वैदेशिक सम्बन्धमा परिपक्व व्यवहार देखाउन राप्रपाको रास्वपालाई सुझाव

वैदेशिक सम्बन्धमा परिपक्व व्यवहार देखाउन राप्रपाको रास्वपालाई सुझाव

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई वैदेशिक सम्बन्धका सवालमा परिपक्व व्यवहार देखाउन सुझाव दिएको छ।

रास्वपाका सभापति रवि लामिछानेले आज आह्वान गर्नुभएको सर्वदलीय बैठकमा राप्रपाले उक्त सुझाव दिएको हो।

बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई वैदेशिक सम्बन्धका मामिलामा गम्भीर र संवेदनशील बन्न आग्रह गरे।

‘वैदेशिक सम्बन्धका सवालमा अपरिपक्व व्यवहारहरू देखाउनु भएन। देश जित्नेको मात्र होइन, हार्नेको पनि हो। सरकारले गर्ने गलत क्रियाकलापको सिकार सम्पूर्ण देश हुनुपर्ने हुन्छ, त्यसैले सरकारबाट अलिकति परिपक्व व्यवहार प्रदर्शन गरियोस्’, अध्यक्ष लिङ्देनले भने।

प्रधानमन्त्री बालेन शाहले संसद्मा सीमा सम्बन्धमा दिएको मन्तव्य र रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा ‘हामीले विगतको भारी बोक्दैनौँ’ भनी दिएको अभिव्यक्ति अपरिपक्व भएको राप्रपाको ठहर छ।

यस्ता संवेदनशील अभिव्यक्तिहरूले दूरगामी र गम्भीर अर्थ राख्ने भन्दै अध्यक्ष लिङ्देनले वैदेशिक सम्बन्धका विषयमा थप जिम्मेवार हुन रास्वपालाई सुझाव दिए।

भारत भ्रमणबाट फर्किएपछि रास्वपा सभापति लामिछानेले सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा उनले आफ्नो भारत भ्रमणका क्रममा भएका कुराकानीका विषयवस्तु ब्रिफिङ गर्नुका साथै सरकारका लागि रचनात्मक सुझाव सङ्कलन गर्ने उद्देश्य रहेको जानकारी सहभागीहरूलाई गराएका थिए।

गत फागुन २१ को निर्वाचनबाट झन्डै दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेको रास्वपाले सर्वदलीय बैठक बोलाएको यो पहिलो पटक हो।

जेठ २५, २०८३ सोमबार ११:२१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।