रविले बोलाएको सर्वदलीय बैठकमा शीर्ष नेताहरू अनुपस्थित, श्रम संस्कृति पार्टीद्वारा बहिष्कार
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक सिंहदरबारमा जारी छ।
भारत भ्रमणबाट फर्किएलगत्तै सभापति लामिछानेले समसामयिक राजनीतिक विषय तथा संसद्को गतिरोध अन्त्यका बारेमा छलफल गर्न यो बैठक बोलाएका हुन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय अन्तर्गतको सार्वजनिक लेखा समितिको हलमा बैठक जारी छ।
बैठकका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सभापति तथा अध्यक्षहरूलाई आमन्त्रण गरिएको भए पनि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू भने अनुपस्थित भएका छन्।
नेपाली कांगेस, एमाले र नेकपाका मुख्य नेताहरू बैठकमा सहभागी नभएपछि ती दलहरूले दोस्रो तहका नेता वा सचेतकहरूलाई प्रतिनिधि बनाएर पठाएका छन्। प्रमुख दलका शीर्ष नेताहरूमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन मात्र बैठकमा सहभागी छन्।
बैठकमा रास्वपाबाट सभापति रवि लामिछाने, सह-महामन्त्री विपीन आचार्य, महामन्त्री कविन्द्र बुर्लाकोटी, सांसद दीपक बोहोरा र कानुनमन्त्री सोबिता गौतम सहभागी छन्।
त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सांसद साहजना खातुन सहभागी छन् भने एमालेबाट संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महर सहभागी छन्।
यसैगरी, नेकपाका सह-संयोजक माधव नेपाल, सांसद वर्षमान पुन, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक खुस्बु ओली तथा जसपा नेपालका तर्फबाट राष्ट्रियसभा सदस्य महमोद खालिल बैठकमा उपस्थित छन्।
यता, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले भने यस सर्वदलीय बैठकलाई बहिष्कार गरेको छ। बैठकमा श्रम संस्कृति पार्टीका तर्फबाट कोही पनि सहभागी भएका छैनन्।
प्रधानमन्त्री वालेन्द्र शाहको हालैको भारतसम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा जारी गतिरोध अन्त्यका लागि बैठक बसिरहेको हो।
जेठ २५, २०८३ सोमबार १०:२५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।