संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक जारी, आज बजेट छलफल र विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिका कारण विपक्षी दलहरूले सदन अवरुद्ध पारिरहेका बेला आज सोमबार प्रतिनिधि सभाको बैठक बस्ने तयारी भइरहेको छ।
आज बिहान ११ बजेका लागि बोलाइएको दोस्रो अधिवेशनको १८औं बैठकअघि संसद्को गतिरोध अन्त्य गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्। बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।
गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा सम्बोधन गर्ने क्रममा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भनी अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसको कडा विरोध गर्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएका छन्।
सोही गतिरोधलाई निकास दिई आजको बैठक सुचारु गराउने उद्देश्यले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको पहलमा सर्वदलीय छलफल सुरू भएको हो।
यदि सर्वदलीय बैठकमा सहमति जुटेर आजको संसद् बैठक सुचारु भएमा आज बजेटमाथिको छलफल र विभिन्न महत्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा सार्वजनिक गरिएको सम्भावित कार्यसूची अनुसार बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
बजेटमाथिको सामान्य छलफल सकिएपछि अर्थमन्त्री वाग्लेले बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।
यसैगरी, व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने र ती विधेयकहरू संसद्मा प्रस्तुत गर्नेछन्।
बैठकमा अन्य मन्त्रीहरूको पनि कार्यसूची तय गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१)’ र ‘बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल (नं. २९)’ संसद्मा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
जेठ २५, २०८३ सोमबार १०:१३:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।