प्रधानमन्त्री वालेन्द्रसँगको सहमतिमा संसद् गतिरोध हटाउन रविले बोलाए सर्वदलीय बैठक
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभामा ‘नेपालले पनि भारतको जग्गा मिचेको’ अभिव्यक्ति दिएसँगै अवरुद्ध भएको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकको अवरोध खोल्न राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वदलीय बैठक बोलाएको छ।
सरकार गठनपछि रास्वपाले पहिलो पटक अन्य दलको शीर्ष नेतृत्वसँग छलफल गर्न लागेको हो। रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सोमबार बिहान ९ बजे संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बैठक बोलाइएको हो।
पार्टी सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष/सभापति सहित दुईजना सहभागी हुन आमन्त्रण गरिएको छ।
प्रधानमन्त्री वालेन्द्रको सो अभिव्यक्तिको विरोधमा प्रतिपक्षी सांसदहरूले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक निरन्तर अवरोध गर्दा बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन। सभामुख डीपी अर्यालले दलका संसदीय दलका प्रमुखसँग छलफल गरेर सहमति निकाल्न असफल भएपछि पार्टीगत रूपमा सभापतिले नै राजनीतिक सहमतिको प्रयास गरेका हुन्।
स्रोतका अनुसार रास्वपा सभापति लामिछाने पाँच दिने भारत भ्रमणबारे जानकारी दिन आइतबार प्रधानमन्त्री निवास बालुवाटार गएर पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका थिए। छलफलमा संसद्को गतिरोध अन्त्यबारे समेत छलफल भएको थियो।
विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहको सो भनाई संसद्को रेकर्डबाट हटाउनु पर्ने र उनले संसदमा आएर माफी माग्नुपर्ने माग गरिरहेका छन्। सोमबार संसद् बैठकको कार्यतालिका रहेको छ। संसद् बैठक सुरु हुनु अगाडि नै दलहरुबीच सहमति खोज्न रविले पार्टी सभापतिको हैसियतमा सर्वदलीय बैठक बोलाएका हुन्।
जेठ २४, २०८३ आइतबार २१:१३:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।