सीमा समस्या समाधानमा नेपालले तेस्रो पक्षको मध्यस्थता नखोजेको परराष्ट्रमन्त्री खनालको दाबी

सीमा समस्या समाधानमा नेपालले तेस्रो पक्षको मध्यस्थता नखोजेको परराष्ट्रमन्त्री खनालको दाबी

काठमाडौं : भारत भ्रमणबाट फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेको सीमा विवाद समाधानका लागि तेस्रो पक्षको मध्यस्थता नखोजेको दाबी गरे। भारतबाट आइतबार फर्किएका उनले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले केही ऐतिहासिक दस्ताबेजबारे मात्र (बेलायतसँग) कुरा गरेको दाबी गरे।

प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा बोल्नेक्रममा नेपालले पनि भारतको जग्गा मिचेको विवादित अभिव्यक्तिसँगै कालापानी अनि लिपुलेकको विवादबारे बेलायतसँग पनि छलफल भएको दाबी गरेका थिए। प्रधानमन्त्री वालेन्द्रको यो अभिव्यक्तिप्रति भारतले आपत्ति जनाउँदै 'नेपाल-भारतबीचको विवादमा तेस्रो पक्षको मध्यस्थता अस्वीकार गर्ने' बताएको थियो।

भारत भ्रमण सकाएर नेपाल फर्किएका खनालले पनि यसलाई नेपाल भारतबीचको सीमा विवादमा तेस्रो देशको मध्यस्थता खोजेको रूपमा नबुझ्न उनले आग्रह गरे। नेपालको वर्तमान सीमा सुगौली सन्धिबाट निर्धारण भएको र यसबारे तथ्य र प्रमाण आवश्यक पर्यो भने त्यो चाहिन्छ भनेर त्यसबारे संवाद अगाडि बढाउन प्रधानमन्त्रीले निर्देशन दिए अनुसार संवाद भएको उनको दाबी छ।

"नेपाल र भारतबीचको सीमा विवादमा दुवै देश सँगै एक टेबलमा बस्न नसक्ने अन्य पक्ष को बस्न सक्ला र," उनले भने "यो समस्याको समाधान कूटनीतिक माध्यमबाटै समाधान गर्नुपर्छ भन्ने नेपालको धारणा भारत भ्रमणकोक्रममा प्रस्ट रूपमा राखेको छु।"

उनले सीमा समस्या समाधानका लागि नेपालले  राष्ट्रिय अभिलेखालयमा रहेको प्रमाण अध्ययन गरिरहेको तर कतिपय आधिकारिक दस्ताबेजहरू नभएको बुझिएको भन्दै उपलब्ध दस्ताबेजहरूका लागि सहयोगी प्रमाणहरूका लागि बेलायतको सङ्ग्रहालयमा रहेका दस्ताबेज, टिपोट लगायतका प्रमाणहरूबारे बेलायतको सरकारसँग सहकार्य गर्न सकिने उनले बताए।

जेठ २४, २०८३ आइतबार १९:२२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।