रास्वपालाई जनताले दिएको मत अरु पार्टीसँग पङ्गा खेल्न होइन : कविन्द्र बुर्लाकोटी

रास्वपालाई जनताले दिएको मत अरु पार्टीसँग पङ्गा खेल्न होइन : कविन्द्र बुर्लाकोटी

गोरखा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले रास्वपा संसद्‌मा अन्य दलहरूसँग झगडा गर्न नभई देश विकासका लागि आएको बताएका छन्।

रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले सबै राजनीतिक दलसँग सहकार्य गरेर विकास, सम्मृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताए। 

“रास्वपालाई जनताले दिएको मत अरु पार्टीसँग पङ्गा खेल्न होइन”, महामन्त्री बुर्लाकोटीले भने, “सबै मिलेर काम गर्यौँ भने मात्र राम्रो नतिजा ल्याउन सकिन्छ।” 

उनले  गोरखकाली रवर उद्योगलाई पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको र त्यसका लागि अर्थ मन्त्रालयसँग आफूले पटक–पटक छलफल गरेको बताए।

“गोरखकाली रवर उद्योगमा निजी क्षेत्रले लगानी गरेर अघि बढ्न सक्ने सम्भावना प्रवल छ”, उनले भने, “सरकारले चलाए पनि, सरकार र निजी क्षेत्र मिलेर चलाए पनि, उद्योग चल्नुपर्छ, सबै गाडीमा गोरखकाली रवर उद्योगको टायर हालेर गाडी गुडेको देख्न पाउनुपर्छ।”

त्यस्तै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न आगामी आर्थिक वर्षका लागि केही बजेट विनियोजन भएको र आयोजनालाई अधिकार सम्पन्न प्राधिकरण गठन गरेर ठोस निर्णय गरी निर्माण अघि बढाउने महामन्त्री बुर्लाकोटीले बताए। राजनीति ठिक भएमात्र सबै क्षेत्र राम्रो हुने भन्दै त्यसका लागि सुधार गर्ने प्रयास सरकारले गरिरहेको उनको भनाइ छ।
    
महामन्त्री बुर्लाकोटीले बाहिरबाट आउने ‘रेमिट्यान्स’ ले मात्र देशले आर्थिक समृद्धि हासिल हुन नसक्ने भएकाले देशभित्र उद्योग धन्दा खोल्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट विकास, निर्माण र आर्थिक सम्बृद्धि हासिल गर्नेतर्फ केन्द्रित रहेको उनको भनाइ छ।

जेठ २४, २०८३ आइतबार १७:०६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।