रास्वपा कलैया नगर अधिवेशन विवाद : पुनः निर्वाचनको निर्णयविरुद्ध केन्द्रीय कार्यालयमा प्रदर्शन

रास्वपा कलैया नगर अधिवेशन विवाद : पुनः निर्वाचनको निर्णयविरुद्ध केन्द्रीय कार्यालयमा प्रदर्शन

काठमाडौं : बाराको कलैया उपमहानगरपालिका नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर विवाद उत्पन्न भएपछि पारदर्शिताको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का असन्तुष्ट कार्यकर्ताहरूले आइतबार पार्टीको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन्।

निर्वाचन सम्पन्न भई परिणाम घोषणा र शपथग्रहणसमेत भइसकेको अवस्थामा विधानविपरीत पुनः निर्वाचन गराउन लागिएको भन्दै कार्यकर्ताहरू आन्दोलित भएका हुन्।

कार्यकर्ताहरूका अनुसार २०८३ साल जेठ १७ गते सम्पन्न नगर अधिवेशनमा उमाशंकर रनिया १२४ मत सहित विजयी भएका थिए। निर्वाचनपछि रनियाको शपथग्रहणसमेत भइसकेको अवस्थामा दुई दिनपछि सामाजिक सञ्जालको ह्वाट्सएप समूहमार्फत उपनिर्वाचन हुने सूचना सार्वजनिक भएपछि विवाद सुरु भएको हो।

पार्टीका समर्थक धिराज पटेलले उक्त सूचना कुनै आधिकारिक पत्र, हस्ताक्षर वा पद उल्लेखबिनाको साधारण कागजमा सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका छन्। 

‘५० प्रतिशतभन्दा बढी मत नपुगेको’ भन्ने आधार देखाएर पुनः निर्वाचनको सूचना जारी गरिएको दाबी गरिएको भए पनि निर्वाचनकै दिन यस्तो विषय किन नउठाइएको भन्दै उलने प्रश्न गरेका छन्। पार्टीका निर्वाचन प्रतिनिधि र नेतृत्वले विधानको सही व्याख्या नगरेको, विजयी घोषणा गरी माला र अबिर लगाइसकेपछि पुनः निर्वाचन गराउने कार्य अनुचित भएको पटेलको दाबी छ। 

उनले पार्टी नेतृत्वसँग उपनिर्वाचनको आधार सार्वजनिक गर्न, पारदर्शिता कायम गर्न तथा निष्पक्ष रूपमा पुनः प्रक्रिया अघि बढाउन माग गरेका छन्। उनले रास्वपा समर्थकहरु परिवर्तनको आशामा पार्टीमा आबद्ध भएको तर पछिल्लो घटनाले निराश बनाएको बताएका छन्।

जेठ २४, २०८३ आइतबार १६:१३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।