फेरि गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनु : सुधन गुरुङ

फेरि गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनु : सुधन गुरुङ

काठमाडौं : पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफू फेरि गृहमन्त्री बनेमा दुई महिनासम्म तस्बिर खिच्नका लागि नआउन अनुरोध गरेका छन्।

रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै सांसद गुरुङले आफू पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताउँदै गृहमन्त्री बनेमा दुई महिनासम्म फोटो खिच्न नआउन अनुरोध गरे। 

आफू निर्दोष सावित हुने र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिने सम्भावनाप्रति सङ्केत गर्दै गुरुङले भने, "यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला।"

उनले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको बताए। सार्वजनिक पदमा रहँदा उठेका सवालहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको समेत उनले बताए।

उनले भने, "मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ। बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु।"

उनले छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताए।

जेठ २४, २०८३ आइतबार १४:५७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।