एन्फाको लापरबाहीले ६ खेलाडी मारिएको सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन

एन्फाको लापरबाहीले ६ खेलाडी मारिएको सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मकवानपुरको सिस्नेरीमा ६ जना युवा खेलाडीले ज्यान गुमाएको घटनाको विषयमा छानबिन गर्न समिति गठन गरेको छ। 

राखेपले चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुधन बस्नेतको संयोजकत्वमा ५ सदस्यीय छानबिन उपसमिति गठन गरेको हो।

उक्त उपसमितिमा बस्नेत सहित सदस्यहरुमा कर्मचारी प्रशासन विभाग प्रमुख शारङ्गिन निरौला, कानुन शाखा प्रमुख नारायणराज अर्याल, खेलकुद प्रतियोगिता तथा योजना विभागका विनोदकुमार उप्रेती र शिक्षा तथा खेलकुद मन्त्रालय कानुनी अधिकृत छन्। समितिलाई घटनाको अध्ययन गरी २१ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ। 

२०८१ असोज १२ गते सिस्नेरी खोलाको पहिरोमा परी अखिल नेपाल फुटबल संघले राखेको एन्फा एकेडेमीमा प्रशिक्षण लिँदै गरेका ६ जना युवा खेलाडीहरु अनुपम घलान,साइमन योन्जन, दिवस बानियाँ,आदित्य बलम्पाखी, प्रियान्स आचार्य र विकल रेग्मीको ज्यान गएको थियो। 

२०८१ असोज ९ देखी १२ गतेसम्म अविरल परेको वर्षासँगै सिस्नेरी खोलाको जल सतह बढेको थियो। कुलेखानी जलविद्युत आयोजनामा ड्याममा पानी भरिएपछि कुलेखानी आयोजनाले सूचना जारी गरेर ड्याम खोलेको थियो। पहिल्यै खोलाको जल सतह बढी सकेको थियो। ड्यामको पानी पनि खुलेपछि एकेडेमी भएको घर समेत असुरक्षित भयो। 

पानीको सतह डरलाग्दो गरी बढेपछि एकेडेमीमा ४० खेलाडी के गर्ने, के नगर्नेमा अन्यौलमा परे। त्यसपछि जे जति सामान बोक्न सकिन्छ बोकेर सुरक्षित ठाउँतिर जाँदाजाँदै बाटोमा खसेको पहिरोमा ६ खेलाडी पुरिए।

पीडित परिवारले आयोजनाले समयमै ड्याम खोल्ने पूर्वसूचना दिएर सतर्क गराउँदा गराउँदै पनि एन्फा पदाधिकारीहरूको लापरवाहीका कारण ज्यान गएको आरोप लगाउँदै आएका छन्।

तर, यता एन्फाले भने आफूमाथिको आरोप अस्वीकार गर्दै कुलेखानी आयोजनाको गम्भीर लापरवाहीका कारण किशोर खेलाडीहरूको ज्यान गएको दाबी गर्दै आएको छ।

यद्यपि, यस बिषयमा उकेराले २०८२ साउनमा गरेको स्थलगत रिपोर्टिङ्गमा एन्फा पदाधिकारीहरूकै लापरवाही र गैरजिम्मेवारपनका कारण ६ जना युवा खेलाडीको ज्यान गएको देखिएको थियो।

यो पनि :

जेठ २४, २०८३ आइतबार १४:५१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।