अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
अछाम : अछामको कमलबजार नगरपालिका–७ क्वाल्लेखमा गएराति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
तुर्माखाँद गाउँपालिका–३ का २६ वर्षका पुष्प बुढाले चलाएको से १ ज ६१३ नम्बरको जीप दुर्घटना हुँदा कमलबजार नगरपालिका–७ का ३४ वर्षीय कर्ण भाटको मृत्यु भएको हो। जिप सडकबाट दुई सय मिटर तल खसेको थियो।
दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय कमलबजारका प्रहरी निरीक्षक सरोजकुमार कैलाको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो। गम्भीर घाइते भएका भाटलाई उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन पुर्याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
दुर्घटनामा मृतक भाटका १३ वर्षीय छोरा मीनबहादुर भाट र सोही ठाउँका ३० वर्षीय बद्री भाट घाइते भएका छन्। दुवै जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको प्रहरीले जनाएको छ।
जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जेठ २४, २०८३ आइतबार १०:१४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।