ओमानलाई हराउँदै नेपाल एसियन गेम्स छनोटको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्स छनोटको फाइनलमा

काठमाडौं : नेपाल सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट खेलको फाइनलमा प्रवेश गरेको छ। आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपालले फाइनलको यात्रा तय गरेको हो।

सिंगापुर नेसनल क्रिकेट मैदानमा ओमानले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। 

नेपालको जितमा लोकेश बम र रोहित पौडेलले अविजित ६८ रनको साझेदारी गरे। लोकेशले २६ बलमा ७ चौका र १ छक्कासहित ४४ रन जोडे भने रोहित २१ रनमा अविजित रहे। ओपनर कुशल भुर्तेलले २० रन बनाए भने आसिफ शेख १ रनमा आउट भए। ओमानका लागि दुवै विकेट समीर ओटमनले लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको ओमान १९.४ ओभरमा ९४ रनमा समेटिएको थियो। ओमानका लागि कप्तान सुफ्यान महमुदले सर्वाधिक ३८ रनको योगदान दिए। त्यस्तै, जुबैर अल बलुशीले २२ र अब्दुल जलिलले १६ रन बनाए। ओमानका अन्य आठ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालको बलिङमा करण केसीले ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट हात पारे भने कुशल मल्ल, शाहब आलम र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए। नेपालले अब सोमबार हुने फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

जेठ २४, २०८३ आइतबार १०:०१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।