फेसबुकमा प्रधानमन्त्री बालेन्द्रको 'शनिवारीय' सन्देश: "राजदूत बन्न मन छ, प्रधानमन्त्रीको नम्बर दिनुस् न"
काठमाडौं : मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको दुई महिना पुग्दै गर्दा प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो पुरानो 'शनिवारीय' सामाजिक सञ्जाल शैलीलाई फेरि निरन्तरता दिएका छन्। शनिवार बेलुका उनले फेसबुकमा एक व्यङ्ग्यात्मक स्टाटस लेख्दै मोबाइलमा एसएमएस गरेकै आधारमा सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको भनिएको हालैको चर्चित घटनामाथि टिप्पणी गरेका हुन्।
सार्वजनिक भएको सचिव कृष्णहरि पुष्करले उनलाई पठाएको भनिएको मेसेजकै शैलीमा प्रधानमन्त्री शाहले व्यङ्ग्य गर्दै आफूलाई पनि राजदूत बन्न मन लागेको र प्रधानमन्त्रीकै नम्बर चाहिएको उल्लेख गरेका छन्।
उनले आफ्नो फेसबुक अकाउन्टमा लेखेका छन्,"मलाई पनि एम्बेसडर बन्न मन छ, पिएम (प्रधानमन्त्री) को नम्बर छ भने यसो दिनुस् न।" प्रधानमन्त्रीकै अकाउन्टबाट आफैँलाई 'पीएम' सम्बोधन गर्दै गरिएको यो आत्म-व्यङ्ग्यबारे सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।
प्रधानमन्त्रीले राखेको स्टाटसमा उनको मन्त्रिपरिषद्को टिमका सदस्यहरू पनि मिसिएर जिस्किरहेका छन्। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेल मिसिँदै कमेन्ट गरे " म्यासेज गर्दिम?"
विगतमा काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि बिदाको दिन वा रातीको समयमा राजनीतिक र प्रशासनिक बेथितिमाथि आक्रामक र विवादित स्टाटस लेख्ने उनको शैली अहिले प्रधानमन्त्री बन्दा पनि कायमै देखियो। उनले कहिले सिंहदरबार जलाइदिने चेतावनीसहितको स्टाटस लेखे त कहिले नेपालका दलदेखि लिएर अमेरिका, भारत जस्ता देशको नामै लेखेर F**K जस्ता शब्द लेखे। पछि दुवै हटाइयो।
बालेनको फेसबुक सक्कली त हो?
बालेनले समानान्तर रूपमा फेसबुकमा एउटा फेसबुक पेज र अर्को व्यावसायिक मोड अन गरिएको व्यक्तिगत प्रोफाइल पेज चलाउने गरेका छन्। फेसबुक पेज भरिफाई भएको छ। तर अर्को छैन। त्यसैले कतिपयलाई अर्को पेज नक्कली हो कि भन्ने भान पर्न सक्छ। उकेराले यसबारे उनको सचिवालयका अधिकारीहरूसँग यस अगाडि नै भरिफाई गर्दा दुवै उनको सक्कली पेज भएको पुष्टि भएको थियो।
फेसबुकमा रहेको 'बालेन अफिसियल' (balenOfficial) र 'इट्सबी' (itsb.itsb) गरी दुईवटा अकाउन्टमध्ये 'बालेन अफिसियल' उनको नीलो टिक भएको आधिकारिक फेसबुक पेज हो भने 'इट्सबी' व्यावसायिक मोडमा रहेको व्यक्तिगत प्रोफाइल हो।
प्रधानमन्त्री शाहले यस्ता अनौपचारिक, राजनीतिक व्यङ्ग्य र 'शनिवारीय मुड' का सन्देशहरू प्राय: आफ्नो व्यक्तिगत प्रोफाइल (इट्सबी) बाटै पोस्ट गर्ने गरेका छन्, जहाँबाट उनी प्रधानमन्त्री कार्यालयका आधिकारिक कार्यहरू समेत सेयर गर्छन्।
जेठ २३, २०८३ शनिबार २३:२०:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।