परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता; व्यापार, ऊर्जा र कनेक्टिभिटीबारे छलफल
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस जयशङ्करबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।
उनीहरूबीच शनिबार साँझ नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको विदेशमन्त्री डा जयशङ्करले सामाजिक सञ्जाल एक्समा उल्लेख गरे। भेटवार्ताका क्रममा उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल भएको बताइएको छ।
परराष्ट्रमन्त्री खनाल विदेशमन्त्री जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका थिए।
भ्रमणका क्रममा शुक्रबार परराष्ट्रमन्त्री खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाईवालेबीच भेटवार्ता भएको थियो। खनालले शुक्रबार नै नयाँ दिल्लीमा इण्डिया फाण्डेसनद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गरेका थिए।
उनी भ्रमण सम्पन्न गरी यही जेठ २४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
जेठ २३, २०८३ शनिबार २१:४६:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।