करिब दुई तिहाइको सरकार चलाएर पनि 'वैकल्पिक शक्ति'मै रुमलिँदै रास्वपा
काठमाडौं : करिब दुई तिहाइ बहुमतसहित मुलुकको शासन सत्तामा मूलधारको शक्तिशाली शक्तिका रूपमा स्थापित भइसक्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफूलाई परम्परागत शक्तिभन्दा भिन्न देखाउन 'वैकल्पिक शक्ति'को छविमा रुमलिरहेको देखिएको छ।
निर्वाचनबाट पहिलो शक्तिको स्थापित भएसँगै पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा एकल सरकार सञ्चालन गरिरहेको रास्वपामा परिचयको विरोधाभास मनोविज्ञान रहेको देखिन्छ। पार्टीको पहिलो महाधिवेशनअन्तर्गत आज र भोलि हुने जिल्ला अधिवेशनका सन्दर्भमा सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा सभापति रवि लामिछानेले रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र बन्नु रहेको उल्लेख गरेका छन्।
देशको पहिलो शक्ति भइसकेको अवस्थामा उनले मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बनाउने रास्वपालाई लक्ष्य प्रस्तुत गरे। यद्यपि उनले पार्टीभित्र नेता कार्यकर्तामा हुर्किरहेको सोचतिर संकेत गरी उक्त कुरा भनेको देखिन्छ।
उनले भनेका छन्, "अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो। त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ। तर, संगठन विस्तार हुँदा ‘म रहन्न कि’ भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्छ। पार्टी ठूलो हुँदा हामी सबैको भूमिका अझ अर्थपूर्ण हुन्छ।"
लामिछानेले पार्टीभित्र हुर्किन सक्ने सत्ताको आशक्ति र पद प्राप्तिको होडबाजीप्रति कडा चिन्ता व्यक्त गरे। उनले स्थापनाकालका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा योगदानको हिसाब खोज्ने प्रवृत्तिले पार्टीलाई क्षति पुग्ने चेतावनी दिए। चार वर्षकै अवधिमा पार्टीभित्र देखिएको पदका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई अधिवेशनको लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्नेमा उनको जोड छ।
"स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाब-किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन। चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ," उनले भने, "पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि कहिलेकाहीँ देखिएको छ। यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो।"
पार्टीको सफलतामा कुनै व्यक्तिको मात्र नभई मतदाताको विवेक र सदस्यहरूको समर्पण रहेको उल्लेख गर्दै लामिछानेले अब ‘म’बाट ‘हामी’ मा रूपान्तरण हुने बेला आएको बताए। महाधिवेशनले पार्टी राजनीतिलाई सुसंस्कृत, पारदर्शी र जनमैत्री बनाउने उनको विश्वास छ।
"युगले दिएको अभिभारा पूरा गर्न, पछिल्लो जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन हामी सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्छ," उनले भने, "अब ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने बेला आएको छ।"
पुरानै सोच र प्रवृत्ति बोकेर नयाँ जनमैत्री शक्ति बन्न नसकिने उनको तर्क छ। "हामीले रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य लिएका छौं। त्यसका लागि विचार मात्र होइन, हाम्रो शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्छ," लामिछानेले भनेका छन्, "पुरानै सोच, शैली र प्रवृत्ति बोकेर हामी नयाँ र परिष्कृत जनमैत्री शक्ति बन्न सक्दैनौं।"
उनले महाधिवेशनले नेतृत्व चयन गर्ने मात्र नभई पार्टीको अनन्तकालीन जीवन, विधि-पद्धति, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्दै आगामी यात्रालाई स्पष्ट दिशानिर्देश गर्ने विश्वास व्यक्त गरे।
जेठ २३, २०८३ शनिबार १९:३९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।