प्रहरी वृत्त पुगेर गुरुङले गरे ईश्वरीको हत्यामा संलग्नलाई कारबाहीको माग
काठमाडौं : तारकेश्वरमा भएको ईश्वरी भुजेलको हत्या घटनाबारे जानकारी लिन शनिबार प्रहरी वृत्त बालाजु पुगेका पूर्व गृहमन्त्री एवं रास्वपा सांसद सुधन गुरुङले घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन्।
गुरुङले सत्यतथ्य छानबिन गर्न प्रहरीलाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ। उनले मृतककी आमा र दिदीलाई भेटेर घटनाबारे जानकारी लिनुका साथै पीडित परिवारप्रति समवेदना प्रकट गरेका थिए।
उनले पीडित परिवारको न्यायका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। मृतक भुजेल गुरुङकै निर्वाचन क्षेत्र गोरखा-१ निवासी हुन्।
सैनिक ब्यान्डमा प्राविधिक सुबेदार पदमा कार्यरत रहेकी भुजेललाई शुक्रबार बेलुका गम्भीर अवस्थामा त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज पुर्याइएको थियो।
काठमाडौंको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा बस्ने उनीमाथि उनकै श्रीमान् नेपाली ब्रोको नामले टिकटकमा परिचित कुमार थापा मगरले रडले हानेको प्रारम्भिक सूचना आएको थियो।
प्रारम्भमा रड प्रहार भनिए पनि नजिकै घाँसको झाडीमा धारिलो चक्कु बरामद भयो। भुजेलको शरीरमा लागेको चोटको प्रकृतिले पनि उनीमाथि चक्कु प्रहार भएको देखियो। श्रीमती हत्याको आरोपमा प्रहरीले कुमारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
जेठ २३, २०८३ शनिबार १८:०५:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।