प्रधानमन्त्रीको विवादित अभिव्यक्ति विरुद्ध संसदबाट सडकमा उत्रियो श्रम संस्कृति पार्टी

प्रधानमन्त्रीको विवादित अभिव्यक्ति विरुद्ध संसदबाट सडकमा उत्रियो श्रम संस्कृति पार्टी

काठमाडौं : संसदमा सरकारको जबाफदेहिता खोजिरहेको श्रम संस्कृति पार्टीले खबरदारीको लागि सडक गतिविधिमा देखिन थालेको छ। 

सरकारका गतिविधि विरुद्ध संसदमा खरो ढंगले आवाज उठाइरहेको सो पार्टीले संसद् नचलेको बेला खबरदारीको आवाज उठाउन सडकसम्म पुग्न थालेको छ।

काठमाडौंमा सरकारले सुकुमबासी बस्ती हटाउँदा खबरदारीको सडकमा देखिएको श्रम संस्कृति पार्टी फेरि अहिले सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति विरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ।

माइतीघर मण्डलामा आयोजित खबरदारी सभामा सहभागीहरूले प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रिय हित विपरीत र तथ्यहीन रहेकोले उक्त अभिव्यक्ति फिर्ता लिन माग गरे। 

केही दिनअघि संसद्मा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिले मुलुकको सार्वभौमिकता र कूटनीतिक अडानमा आँच पुऱ्याएको श्रम संस्कृति पार्टीको बुझाई छ।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘नेपाली माटोको रक्षा गरौं’, ‘राष्ट्रिय सम्मान जोगाऔं’ र ‘गैरजिम्मेवार अभिव्यक्ति फिर्ता गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

सभालाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री शाहले संसद् जस्तो गरिमामय ठाउँमा बिना आधार सीमाका विषयमा गैरजिम्मेवार धारणा राखेको बताए। सीमा समस्या हुनु र अर्काको भूमि मिच्नु नितान्त फरक विषय भएको उनको भनाई छ। 

प्रधानमन्त्री शाहले त्रुटिपूर्ण उक्त अभिव्यक्ति सच्याउनुपर्नेमा आफ्नो पार्टीको स्पष्ट अडान रहेको राईको भनाई छ। प्रधानमन्त्रीको अभिव्यक्तिबारे राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म आधिकारिक धारणा सार्वजनिक नगरेकोमा प्रश्न उठाउँदै राईले सोही विषयमा परराष्ट्र मन्त्रालय र सरकारका प्रवक्ताले दिएको स्पष्टीकरण समेत अपर्याप्त रहेको टिप्पणी गरे। 

उनले भने, "यस्तो राष्ट्रघाती अभिव्यक्ति सरकार प्रमुखले दिई राख्दाखेरि आजसम्म ठूलो पार्टी, जनताले मत दिएर पठाएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेसम्म चुइँक बोलेको छैन। प्रधानमन्त्रीले बोलेको अभिव्यक्तिविरुद्ध रास्वपाको धारणा के हो ? सोध्न चाहन्छु।"

राईले भने, "प्रधानमन्त्रीज्यूले आफ्नो अभिव्यक्तिपछि नाङ्गिनुभएको छ। उहाँले अतिक्रमण भन्न मिल्छ त ? प्रधानमन्त्रीज्यूले यसो भन्न खोज्नुभएको हो भनेर परराष्ट्र मन्त्रालयले ढाकछोप गर्न खोज्यो। सरकारका प्रवक्ताले पनि त्यही ढङ्गले बोल्नुभयो। एउटा गल्ती ढाकछोप गर्न अर्को गल्ती गर्नुहुन्न। त्यो लाजमर्दो कुरा नाङ्गिने कुरा सरकारले गर्नुहुँदैन। त्यो कारणले गर्दाखेरि अब सडकमा आउन बाध्य भएको हो।"

प्रधानमन्त्री शाहको उक्त भनाइप्रति विपक्षी दल र नागरिक स्तरबाट आलोचना भइरहेका बेला श्रम संस्कृति पार्टीले पनि सडक प्रदर्शनमार्फत विमति राख्न थालेको छ। सरकारको अभिव्यक्तिप्रति असहमति जनाउन आफूहरू सडकमा उत्रिन बाध्य भएको राईको भनाइ थियो।

जेठ २३, २०८३ शनिबार १७:३०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।