ईश्वरी हत्या घटनास्थलको दृश्य : उछिट्टिएको हेलमेट अनि रगतले भिजेको चप्पल

ईश्वरी हत्या घटनास्थलको दृश्य : उछिट्टिएको हेलमेट अनि रगतले भिजेको चप्पल

काठमाडौं : सैनिक ब्यान्डमा प्राविधिक सुबेदार पदमा कार्यरत रहेकी ईश्वरी भुजेललाई शुक्रवार बेलुका गम्भीर अवस्थामा त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज पुर्याइयो। काठमाडौंको तारकेश्वर नगरपालिका-०६ लोलाङ पैँयुटारमा बस्ने उनीमाथि उनकै श्रीमान् नेपाली ब्रोको नामले टिकटकमा परिचित कुमार थापा मगरले रडले हानेको प्रारम्भिक सूचना आएको थियो।

प्रारम्भमा नजिकैको अस्पतालमा लगिएको थियो। शुक्रबार राति १० बजेतिर घरायसी विवादमा नेपाली ब्रो भनिने थापाले रड प्रहार गरेर गम्भीर घाइते बनाएको सूचनाको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लियो। अवस्था गम्भिर भएकाले उपचारका लागि शिक्षण अस्पतालमा रिफर गरियो। तर उनको ज्यान जोगिन सकेन। उपचारकोक्रममा उनको निधन भयो।

प्रहरी घटनास्थल पुग्दा जमिन रगतले भिजेको थियो। नजिकै स्कुटर थियो भने रगतको बिचमा महिलाको चप्पल र हेलमेट थियो। घटनास्थलको प्रकृतिले स्कुटरमा आएर ओर्लिएपछि विवाद भएको र त्यहीँ आक्रमण भएको देखिन्छ।

प्रारम्भमा रड प्रहार भनिए पनि नजिकै घाँसको झाडीमा धारिलो चक्कु बरामद भयो। भुजेलको शरीरमा लागेको चोटको प्रकृतिले पनि उनीमाथि चक्कु प्रहार भएको देखियो। प्रारम्भिक अनुसन्धानमा भुजेल श्री सैनिक ब्यान्ड नारायणहिटीमा कार्यरत रहेको खुल्यो।

महानगरीय प्रहरी वृत्त बालाजुले कुमारलाई हिरासतमा राखेर हत्या अभियोगमा अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा दुवैको सम्बन्ध बिग्रिएको र पटक पटक घरायसी विवाद हुने गरेको खुलेको छ। दुबैबीच सम्बन्धविच्छेदको मुद्दा चलिरहेको दाबीहरू आए पनि यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

कुमार रेस्लिङमा संलग्न थिए। पछिल्लो समय भने उनी सामाजिक सञ्जालमा नेपाली ब्रोको नामले परिचित थिए। दुबैबीच करिव १९ वर्ष अगाडि विवाह गरेका थिए। इश्वरीसँगै कुमार पनि नेपाली सेनामा थिए। तालिमकोक्रममा परिचय भएपछि विवाह भएको केही भिडियोहरुमा कुमारले खुलाएका थिए।

पछि कुमारले सेना छाडेर रेस्लिङमा लागेका थिए। दुबै जनाको दुई जना सन्तान छन्।

जेठ २३, २०८३ शनिबार १४:५६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।