रास्वपाको जिल्ला अधिवेशन आजदेखि : आज ३७ र भोलि २९ जिल्लामा हुँदै
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ। आगामी असारमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा रास्वपाले दुई दिनभित्र देशका ६६ जिल्लामा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको हो।
पार्टी केन्द्रीय समितिको निर्णयअनुसार जेठ २३ र २४ गते (शनिबार र आइतबार) जिल्ला अधिवेशनहरू हुन लागेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
बुर्लाकोटीका अनुसार आज कोशी प्रदेशका आठ, मधेसका दुई, बागमतीका नौ, गण्डकीका पाँच, लुम्बिनीका आठ, कर्णालीका दुई र सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा अधिवेशन हुनेछन्।
कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा र सुनसरी, मधेसको महोत्तरी र रौतहट तथा बागमतीका दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवशेन हुनेछन्।
गण्डकीका स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी, लुम्बिनीका गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णालीका कालिकोट र सल्यान तथा सुदूरपश्चिमका बैतडी, बझाङ र दार्चुलामा पनि आज अधिवशेन हुँदैछन्।
आइतबार थप २९ जिल्लामा अधिवेशन हुनेछन् । कोशी प्रदेशका उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम, मधेसका सिराहा, धनुषा, पर्सा र सर्लाही तथा बागमतीका चितवन र ललितपुर जिल्लाका अधिवेशन हुनेछन् ।
गण्डकीका तनहुँ, नवलपुर, गोरखा र लमजुङ, लुम्बिनीका अर्घाखाँची, रुपन्देही र प्यूठान, कर्णालीका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला तथा सुदूरपश्चिमका अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवशेन हुने कार्यतालिका छ।
संगठनको विशेष परिस्थितिका कारण मधेश प्रदेशको बारा जिल्लाको अधिवेशन भने जेठ २६ गतेका लागि तोकिएको छ।
प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी छ। “यससँगै पार्टीको मुख्य सङ्गठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ”, महामन्त्री बुर्लाकोटीले भने, “बाँकी १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुनेछ।”
जिल्ला अधिवेशन लगत्तै जेठ २६ गतेदेखि नै सातै प्रदेशको प्रादेशिक अधिवेशन सुरु हुने रास्वपाले जनाएको छ। प्रादेशिक अधिवेशनको सुरुवात बाग्मती प्रदेशबाट हुनेछ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ।
जेठ २३, २०८३ शनिबार १२:२२:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।