१० जिल्लामा फैलियो बर्डफ्लु : साढे ४ लाख बढी पन्क्षी नष्ट, सुनसरी सबैभन्दा बढी प्रभावित
काठमाडौं : नेपालमा पछिल्लो समय बर्डफ्लु संक्रमण तीव्र रूपमा फैलँदै गएको छ।
राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली (एनएएचआईएस) र र्यापिड रेस्पोन्स टोली (आरआरटी) को तथ्यांकअनुसार देशका १० जिल्लाका ५५ वटा व्यवसायिक तथा घरेलु पन्क्षीपालन फार्ममा यो संक्रमण पुष्टि भइसकेको छ।
चालू आर्थिक वर्ष २०८२/८३ मा पहिलो पटक गत चैत ४ गते झापाको सुन्दरहरैँचा–४ स्थित एउटा लेयर्स कुखुरा फार्ममा बर्डफ्लु देखिएको थियो। त्यसयता कोशी प्रदेशबाट सुरु भएको संक्रमण हाल मधेश र बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा समेत विस्तार भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
तथ्यांकअनुसार संक्रमणका कारण हालसम्म ४ लाख ७९ हजार १५६ वटा पन्क्षी नष्ट गरिएको छ भने ६ लाख ९४ हजार १९३ वटा अण्डा नष्ट गरिएको छ। त्यस्तै, १ लाख ८२ हजार ७७५ किलोग्राम पशु आहारसमेत नष्ट गरिएको छ।
सबैभन्दा बढी प्रभावित जिल्ला सुनसरी रहेको छ, जहाँ २३ वटा फार्ममा संक्रमण पुष्टि भएको छ। सुनसरीमा मात्रै २ लाख ८५ हजार ५६४ वटा पक्षी र ४ लाख २७ हजार ५८० वटा अण्डा नष्ट गरिएको छ। त्यस्तै मोरङमा ११ वटा फार्म प्रभावित हुँदा १ लाख १ हजार ८६० वटा पक्षी नष्ट गरिएका छन्।
काठमाडौं उपत्यकामा समेत संक्रमण फैलिएको देखिएको छ। काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा २ वटा फार्म प्रभावित भएका छन्।
काठमाडौंमा मात्रै ३९ हजार ४८१ वटा पक्षी नष्ट गरिएको तथ्यांकमा उल्लेख छ। संक्रमण प्रभावित अन्य जिल्लामा चितवन, झापा, बारा, पश्चिम नवलपरासी र महोत्तरी रहेका छन्।
मन्त्रालय र मातहतका निकायहरूले संक्रमण थप फैलिन नदिन प्रभावित क्षेत्रका पन्क्षी, अण्डा र दाना नष्ट गर्ने कार्य गरिरहेका छन्। साथै, प्रभावित फार्महरूमा कडा निगरानी, जैविक सुरक्षामा कडाइ, नियमित सरसफाइ र निसंक्रमण अभियान सञ्चालन भइरहेको सम्बन्धित अधिकारीहरूले जनाएका छन्।
जेठ २३, २०८३ शनिबार ११:२९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।