जुम्लाको कनकासुन्दरी विद्यालयमा मध्यराति तोडफोड, कक्षा ११ को उत्तरपुस्तिका जलाउने प्रयास

जुम्लाको कनकासुन्दरी  विद्यालयमा मध्यराति तोडफोड, कक्षा ११ को उत्तरपुस्तिका जलाउने प्रयास

जुम्ला : जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ लुड्कुस्थित कनकासुन्दरी माध्यमिक विद्यालयमा अज्ञात समूहले मध्यरातमा प्रवेश गरी तोडफोड तथा आगजनीको प्रयास गरेको छ।

जेठ २१ गते राति भएको उक्त घटनाबाट विद्यालयका डिजिटल उपकरण, शैक्षिक सामग्री तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। 

विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेका अनुसार जेठ २१ गते राति करिब ९ बजेपछि अज्ञात समूह विद्यालय परिसरमा प्रवेश गरेको थियो। उनीहरूले सुरुमा मुख्य विद्युत् लाइनको एमसीबी बन्द गरेर तारहरू काटेका थिए। त्यसपछि कार्यालय र कक्षाकोठामा रहेका विभिन्न उपकरणहरूमा तोडफोड गरेका थिए। 

तोडफोडबाट विद्यालयका आधुनिक डिजिटल उपकरणहरूमा ठूलो क्षति पुगेको छ। विद्यालय प्रशासनका अनुसार तोडफोडबाट १० वटा कम्प्युटर सीपीयू, दुई वटा ल्यापटप, स्मार्ट डिजिटल बोर्डको पावर केबल, ई–हाजिर (बायोमेट्रिक) प्रणाली, आरजे केबल, तीन वटा सीसीटीभी क्यामेरा, पाँच वटा हेड माइक, र माइक हर्न र दुई वटा प्रोजेक्टरमा क्षति पुगेको छ।

घटनापछि विद्यालयभन्दा करिब १०० मिटर तल रहेको खोलाको किनारमा भित्ते घडी, डेस्कटप कम्प्युटर तथा सीसीटीभी क्यामेरा लगायतका सामग्री फालिएको अवस्थामा फेला परेका थिए। 

यस्तै, कक्षा ११ का विद्यार्थीहरूको परीक्षाका उत्तरपुस्तिकाहरूमा समेत आगो लगाइएको छ। प्रधानाध्यापक न्यौपानेका अनुसार केही उत्तरपुस्तिकाहरू आंशिक रूपमा जलेको अवस्थामा फेला परेका छन्। विद्यालयसँग सम्बन्धित कुनै रिसइबी वा परीक्षाको विषयलाई लिएर यो घटना गरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

कनकासुन्दरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन रोकायाले शैक्षिक संस्थामाथि भएको यस्तो आपराधिक गतिविधि अत्यन्त दुःखद र निन्दनीय भएको बताए। उनले दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गर्दै विद्यालयमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी आवश्यक सहयोग तथा पुनःस्थापनाका लागि गाउँपालिकाले पहल गर्ने जानकारी दिए।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

स्थानीय अभिभावक तथा शिक्षा सरोकारवालाहरूले विद्यालय जस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो कार्यले शिक्षा क्षेत्रमै नकारात्मक सन्देश फैलाएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरूले अपराधीलाई तत्काल पहिचान गरी कारबाही गर्न माग गरेका छन्।

जेठ २३, २०८३ शनिबार १०:५८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।