ईभी जाँचपास प्रकरण : रसुवागढी भन्सार प्रमुखसहित नौ जना कर्मचारी जिम्मेवारी मुक्त

ईभी जाँचपास प्रकरण : रसुवागढी भन्सार प्रमुखसहित नौ जना कर्मचारी जिम्मेवारी मुक्त

काठमाडौं : बजेट घोषणा हुनुभन्दा केही दिनअघि प्रक्रिया मिचेर विद्युतीय सवारी साधनको भन्सार जाँचपास गरेको आरोपमा रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारी मुक्त गरिएको छ।

अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिको सिफारिसका आधारमा गत जेठ २० गते उनीहरूलाई जिम्मेवारीबाट हटाई थप अनुसन्धानका लागि भन्सार विभाग तानिएको अर्थमन्त्री स्वर्णिम वाग्लेका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले जानकारी दिए।

रसुवागढी नाकामा भन्सार बिन्दुमै नआइपुगेका सवारी साधनको समेत जाँचपास गरिएको पाइएपछि मन्त्रालयले उक्त कदम चालेको हो।

यसैगरी, मुस्ताङको कोरोला नाकाबाट जाँचपास भएका विद्युतीय कारका सम्बन्धमा पनि मन्त्रालयको छानबिन समितिले स्थलगत रूपमा छानबिन प्रक्रिया अगाडि बढाएको छ।

अहिले अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवद्वय सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अनुसन्धान टोली स्थलगत अनुसन्धानका लागि कार्यक्षेत्रमै खटिएको छ।

प्रारम्भिक रूपमा भन्सार छलीको आशङ्कामा नियन्त्रणमा लिइएका कार र आयातकर्ता कम्पनीमाथि विस्तृत अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ।

यसैबीच, अर्थमन्त्रीको स्वकीय उपसचिव ढुङ्गानाले एक विज्ञप्ति जारी गर्दै यस प्रकरणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जोडेर भइरहेका अफवाह र चरित्र हत्याको प्रयासप्रति खेद प्रकट गरेका छन्।

छानबिन चलिरहेकै अवस्थामा अर्थमन्त्री र मन्त्रालयका जिम्मेवार अधिकारीहरूलाई बद्नाम गर्ने तथा बजेटलाई विवादमा पार्ने उद्देश्यले भइरहेका गलत प्रचारबाजी र ‘मिडिया ट्रायल’ प्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा गलत अफवाह फैलाउने कार्यमा संलग्न केही व्यक्तिमाथि कानुनी उपचारको प्रक्रिया सुरु भइसकेको र अन्यका हकमा पनि कानुनी प्रक्रिया अगाडि बढाइने उल्लेख छ।

साथै, बजेट र भन्सार जस्ता प्राविधिक विषयमा समाचार सामग्री तयार पार्दा जिम्मेवार अधिकारीहरूसँग सत्यतथ्य बुझेर र पुष्टि गरेर मात्र सम्प्रेषण गरिदिन मन्त्रालयले सम्बन्धित सबै पक्षसँग अनुरोध गरेको छ।

जेठ २३, २०८३ शनिबार १०:११:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।