स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा
बागलुङ : जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरूप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कारबाही तीव्र पारेको छ।
बजार क्षेत्रमा विशेष गरी रातिको समयमा हुने ध्वनि प्रदूषणका कारण स्थानीय बासिन्दा, बालबालिका तथा वृद्धवृद्धालाई प्रत्यक्ष असर परेको जनगुनासो बढेपछि प्रहरीले यो अभियान चलाएको हो।
पछिल्लो दुई दिनमा १० वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको ट्राफिक प्रहरी प्रमुख मीनबहादुर कुँवरले बताए।
उनका अनुसार साइलेन्सर, लाइट, लुकिङ ग्लास लगायतका पुर्जा परिवर्तन गरिएका ती सवारीसाधनलाई पुनः मापदण्डअनुरूप बनाउन लगाइएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सवारीको स्वरूप परिवर्तन गरी चलाएमा रु ७ हजारदेखि रु १५ हजारसम्म जरिवाना हुने व्यवस्था छ।
बागलुङमा गत साउनयता मात्रै २ हजार ९ सयभन्दा बढी मोटरसाइकलमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ।
जेठ २३, २०८३ शनिबार ०७:५२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।