अण्डाको नयाँ समर्थन मूल्य निर्धारण
चितवन : नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको छ।
देशभरका किसान तथा व्यवसायीको सुझावका आधारमा सङ्घले चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरेको हो।
नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटा) रु ५६०, ठूलो अण्डा रु ५४५, मध्यम अण्डा रु ५१५ र सानो अण्डा प्रतिपेटी रु तीन हजार कायम गरिएको छ।
यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य प्रतिगोटा करिब रु २५ पुगेको छ। पछिल्लो एक महिनामा अण्डाको मूल्यमा करिब २० प्रतिशतसम्म वृद्धि भएको देखिन्छ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार गर्मीका कारण उत्पादनमा आएको ह्रास र किसानको बढ्दो लागतलाई ध्यानमा राखेर यो मूल्य तोकिएको हो।
उनले हाल अण्डाको उत्पादन लागत प्रतिगोटा रु १९ दशमलव १२ पर्ने गरेको र नयाँ मूल्यले किसानलाई केही राहत मिल्ने बताए।
पछिल्लो समय पर्यटकको आगमन बढेको, सीमा क्षेत्रमा अण्डा आयातमा कडाइ गरिएको र आन्तरिक माग बढेकाले मूल्य सुधारमा सहयोग पुगेको उनको भनाइ छ।
उनले उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनका लागि सरकारी नीतिगत सहयोग आवश्यक रहेको उल्लेख गरे।
जेठ २३, २०८३ शनिबार ०७:१७:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।