रमा हत्या प्रकरण : पैसाको विवादमा जघन्य अपराध, शव बोरामा हालेर फाल्ने भारतीय नागरिक पक्राउ
काठमाडौं : झापाको दमकमा २१ वर्षीया युवतीको हत्या गरी शव बोरामा हालेर फालेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
दमक नगरपालिका-१० स्थित रतुवा खोलाको पुलमुनि प्लास्टिकको बोरामा पोको पारिएको अवस्थामा शव फेला परेको दमक-८ की २१ वर्षीया रोमा (रमा) तिवारीको हत्या आरोपमा ३४ वर्षीय राकेश कुमार पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत जेठ १६ गते रतुवा खोलाको पुलमुनि तिवारीको शव फेला परेको थियो। मृतकका बाबु नारायण तिवारीले उनको शवको सनाखत गरेका थिए। घटना लगत्तै कोशी प्रदेश प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय दमक र प्राविधिक टोलीले सूक्ष्म अनुसन्धान सुरु गरेको थियो।
घटनास्थल वरपरको सीसीटीभी फुटेज र प्राविधिक विश्लेषणको आधारमा संलग्न व्यक्तिको पहिचान गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्ने पण्डित भारतको बिहार राज्य, अररिया जिल्ला घर भई हाल दमक-५ मा डेरा गरी बस्ने र टाइल्स मिस्त्रीको काम गर्ने व्यक्ति हुन्। पण्डितलाई बिहीबार राति उनकै डेराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा आरोपितले पैसाको विषयमा विवाद र झगडा हुँदा तिवारीको हत्या गरेको स्वीकार गरेका छन्। उनीविरुद्ध ज्यान सम्बन्धी कसुर र जबरजस्ती करणी मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थल र आरोपितको साथबाट दसीका प्रमाणहरू समेत बरामद गरेको छ। जसमा घटनाका बखत आरोपितले लगाएको टमी हिलफिगर लेखिएको टिसर्ट, फ्ल्युगोल्ड जिन्स पाइन्ट, एक जोर जुत्ता र मृतकको शव ओसार्न प्रयोग गरिएको मोटरसाइकल रहेका छन्।
जेठ २२, २०८३ शुक्रबार २२:०४:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।