नयाँ पार्टी खोल्दै दुर्गा प्रसाईं र धवलशमशेर राणा

नयाँ पार्टी खोल्दै दुर्गा प्रसाईं र धवलशमशेर राणा

काठमाडौं : मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्यागेका धवलशमशेर राणाबीच नयाँ पार्टी निर्माण गर्ने उद्देश्यले ११ बुँदे सहमति भएको छ। 

शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ र डा. राणा नेतृत्वको समूहबीच संवैधानिक राजसंस्था र हिन्दु अधिराज्य पुनःस्थापनाको मुख्य एजेन्डासहित एकता गरेर जाने सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

दुई पक्षबीच भएको समझदारी पत्रमा नेपालको भू-अखण्डता, सांस्कृतिक मौलिकता र धार्मिक स्वतन्त्रताको रक्षा गर्दै नेपाललाई किराँत र बौद्धसहितको ‘वैदिक सनातन हिन्दु अधिराज्य’ कायम गर्ने उल्लेख गरिएको छ। 

सम्झौतामा मुलुकको इतिहास र परम्परालाई आधार मानी संवैधानिक राजसंस्थाको पुनःस्थापनाका लागि एक सशक्त र लोकतान्त्रिक राष्ट्रवादी राजनीतिक शक्ति आवश्यक रहेको तथ्यलाई आत्मसात् गरिएको छ। राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शनलाई मार्गदर्शक सिद्धान्त मान्ने र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने प्रतिबद्धता गरिएको छ।

सहमति पत्रमा आर्थिक तथा सामाजिक पक्षमा लघुवित्त, सहकारी, बैंक र मिटरब्याजीका कारण कालो सूचीमा परेका नागरिकका साथै भूमिहीन सुकुमबासीहरूको समस्या समाधानसहितका विषय उल्लेख गरिएको छ। 

त्यसैगरी, ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने अवधारणा अनुरूप गैर-आवासीय नेपालीहरूका लागि दोहोरो नागरिकताको कानुनी व्यवस्था, स्वदेशी उत्पादनमा आधारित मिश्रित अर्थतन्त्र र सुशासनयुक्त भ्रष्टाचारमुक्त समाज निर्माणमा जोड दिइएको छ। 

नयाँ पार्टीमा ६० प्रतिशत युवा तथा महिलाको सहभागिता सुनिश्चित गरिने र विचार मिल्ने अन्य राजनीतिक दल, अभियान, संगठन र व्यक्तिहरूलाई साथमा लिएर अघि बढ्ने सहमति भएको छ। सम्झौता पत्रमा डा. धवलशमशेर राणा र दुर्गा प्रसाईंले हस्ताक्षर गर्दै नेपाली नागरिकको गर्भबाट जन्मिएको नागरिक केन्द्रित राष्ट्रवादी दर्शनलाई स्थापित गरिने उल्लेख गरिएको छ। नयाँ पार्टी मलमास सकिएपछि घोषणा गर्ने तयारी रहेको बताइएको छ।  

 

जेठ २२, २०८३ शुक्रबार १८:०१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।