जनप्रतिनिधि नै जुवाको खालमा, वडाध्यक्षसहित ६ जना पक्राउ
त्रिवेणी : रुकुम पश्चिममा वडाध्यक्षसहित छ जनालाई जुवाको खालबाट पक्राउ गरिएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका-४ का वडाध्यक्ष ४७ वर्षीय नन्नराम बाँठासहित छ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्ने अन्यमा मुसिकोट नगरपालिका ११ का ४८ वर्षीय कमल पुन, त्रिवेणी गाउँपालिका ५ का ४४ वर्षीय डिल्लीबहादुर घर्ती, सोही ठाउँका ३० वर्षीय शिव विवश घर्ती मगर, ५३ वर्षीय नन्दकुमार घर्ती मगर र त्रिवेणी २ का ४० वर्षीय मनबहादुर बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।
त्रिवेणी गाउँपालिका-४ लामाखेतस्थित विमलबहादुर खड्काको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी निरीक्षक पुनले जानकारी दिए। प्रहरी चौकी सिम्रुतबाट प्रहरी निरीक्षक हेमन्त गिरीको नेतृत्वमा छ जनाको प्रहरी टोली खटिएको थियो।
उनीहरूको साथबाट १ लाख ६७ हजार १०५ सहित एक गड्डी खोलेको र एक गड्डी नखोलेको ताससमेत बरामद गरिएको उनले बताए। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जेठ २२, २०८३ शुक्रबार १४:२०:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।