तीन दिने भ्रमणका लागि भारत उडे परराष्ट्रमन्त्री खनाल
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल आफ्ना भारतीय समकक्षी एस. जयशङ्करको निमन्त्रणामा आज नयाँ दिल्ली उडेका छन्।
तीन दिने औपचारिक भ्रमणका क्रममा मन्त्री खनालले द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय बैठकमा सहभागिता जनाउने छन्।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
दुई देशबीच व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायतका बहुआयामिक क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भारत प्रस्थान गर्नुअघि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री खनालले लामो समयपछि हुन लागेको यस उच्चस्तरीय भ्रमणमा नेपालको राष्ट्रिय हितका विषयमा केन्द्रित रहेर गहन छलफल हुने जानकारी दिए।
उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबीचको दीर्घकालीन सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा परराष्ट्र मन्त्रालयले लिएको छ।
यसैबीच, सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आफ्नो पाँचदिने अनौपचारिक भारत भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्किँदै छन्।
जेठ २२, २०८३ शुक्रबार १३:५५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।