सङ्घीय सरकारकै कारण १०औं राष्ट्रिय खेलकुद आयोजनामा ढिला भयो : मुख्यमन्त्री कँडेल

सङ्घीय सरकारकै कारण १०औं राष्ट्रिय खेलकुद आयोजनामा ढिला भयो : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारले कर्णाली प्रदेशलाई बजेट र खेल पूर्वाधारका क्षेत्रमा निरन्तर उपेक्षा गर्दै आएको आरोप लगाएका छन्।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्डर–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले सङ्घीय सरकारको नीति र बजेट बाँडफाँटप्रति तीव्र असन्तुष्टि व्यक्त गरे।

बजेट निर्माणका क्रममा कर्णालीको नाम धेरै लिइने भए पनि वास्तविक वित्तीय हस्तान्तरणका क्रममा सधैँ विभेद गरिने भन्दै उनले भने, ‘अक्षरमा कर्णाली प्रदेश भनेर धेरै आउँछ, तर अङ्क (बजेट) आइपुग्दा टिठलाग्दो हुन्छ।’

मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश सरकार आगामी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि पूर्ण रूपमा तयार रहे पनि सङ्घीय सरकारको उदासीनताका कारण ढिलो भइरहेको गुनासो गरे।

‘हामी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्ण तयारीमा छौँ,’ उनले भने, ‘तर केन्द्र सरकारकै कारण समयमै खेल प्रतियोगिता आयोजना हुन सकेको छैन।’

सङ्घीय सरकारको उपेक्षाका बाबजुद सीमित स्रोत र साधनका बीच प्रदेश सरकारले खेल पूर्वाधार निर्माण गरिरहेको उहाँको भनाइ थियो।

कर्णालीलाई खेल क्षेत्रको ‘हब’ बनाउने योजना सुनाउँदै उनले हाल सञ्चालनमा रहेका अस्थायी मैदानहरूको विकल्पमा नेपाल क्रिकेट सङ्घ (क्यान) सँग मिलेर वीरेन्द्रनगरमा सुविधासम्पन्न र स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको विजेता टोलीले नगद रु पाँच लाख र उपविजेता टोलीले रु तीन लाख प्राप्त गर्नेछन्।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई रु ४० हजार, उत्कृष्ट ब्याटरलाई रु २५ हजार, उत्कृष्ट बलरलाई रु २५ हजार र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई जनही रु तीन हजार प्रदान गरिने छ।

जेठ २२, २०८३ शुक्रबार १०:५१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।