बागमतीमा २४ घण्टा : दाजुले भाइलाई खुकुरी हाने, बेन्चमा ठोक्किएर विद्यार्थीको हात फ्याक्चर

बागमतीमा २४ घण्टा : दाजुले भाइलाई खुकुरी हाने, बेन्चमा ठोक्किएर विद्यार्थीको हात फ्याक्चर

काठमाडौं :  पछिल्लो २४ घण्टाको अवधिमा बागमती प्रदेशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटना, भवितव्य, आगलागी लगायतका घटनामा परी ६ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्तिहरू घाइते भएका छन्।

प्रहरीको दैनिक घटना प्रतिवेदन अनुसार काभ्रे, चितवन, धादिङ, दोलखा, मकवानपुर, रामेछाप र सिन्धुपाल्चोकमा यी घटनाहरू भएका हुन्।

विभिन्न घटनामा ६ जनाको मृत्यु
काभ्रेमा तीन जनाको मृत्यु:
काभ्रेको भुम्लु गाउँपालिका-१० मा डेरा गरी बस्ने सुवर्ण आधारभूत विद्यालयकी शिक्षिका ४१ वर्षीया ज्योती खड्का आफ्नै कोठामा जलेर गम्भीर घाइते भएकी थिइन्।

किर्तिपुर बर्न अस्पताल काठमाडौँमा उपचारका क्रममा उनको मृत्यु भएको छ। कोठामा पेट्रोलको जर्किन फेला परेको र उनी डिप्रेसनको औषधि सेवन गरिरहेकी बुझिएको छ।

यस्तै, मण्डनदेउपुर नगरपालिका-१ रानीवनमा आफ्नै बारीमा रहेको चिलाउनेको रुख काट्ने क्रममा रुखले च्यापिएर ५८ वर्षीय लिला बहादुर मगरको घटनास्थलमै मृत्यु भएको छ।

पाँचखाल नगरपालिका-१२ खहरेगाउँमा बा ६३ प ९०८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा चालक २८ वर्षीय रमेश तामाङको घटनास्थलमै ज्यान गएको छ।

चितवनमा दुई जनाको मृत्यु: चितवनको भरतपुर महानगरपालिका-१० वडा कार्यालयको प्रतिक्षालयमा बेवारिसे अवस्थामा फेला परेकी अन्दाजी ४०/४५ वर्षीया महिलालाई उपचारका लागि भरतपुर अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका छन्।

यसैगरी, भरतपुर-१६ विजयनगर चोकमा अक्सफोर्ड कलेजको ना १ क ७४९४ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्री अन्दाजी ५०/५५ वर्षीय शुकराम चौधरीको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीयले बसको सिसा तोडफोड गरेका थिए। पछि पीडित पक्षलाई उचित क्षतिपूर्ति दिने सहमति भएपछि शव परीक्षणका लागि पठाइएको छ भने चालक र बस प्रहरी नियन्त्रणमा छन्।

धादिङमा एक जनाको मृत्यु: धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदीस्थित भाइको घरमा बस्न आएका सिद्धलेक गाउँपालिका-४ का ४० वर्षीय राज परियार मृत अवस्थामा फेला परेका छन्। उनको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको छ।

खुकुरी प्रहार र अन्य घाइतेका घटनाहरू
दोलखामा दाजुद्वारा भाइमाथि खुकुरी प्रहार:
दोलखाको भीमेश्वर नगरपालिका-२ डोकथलीमा खेतबारीमा काम गर्ने विषयमा विवाद हुँदा दाजु लोक बहादुर थामीले आफ्नै भाइ भीम बहादुर थामीमाथि खुकुरी प्रहार गरेका छन्।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका भीम बहादुरको टाउकोमा २७ वटा टाँका लगाइएको छ र उनलाई थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको छ। खुकुरी प्रहार गर्ने लोक बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

छतबाट खसेर बालक गम्भीर घाइते: काभ्रेको पनौती नगरपालिका-७ बसपार्कमा डेरा गरी बस्ने सोम बहादुर स्याङतानका ८ वर्षीय छोरा अभिराज स्याङ्तान घरको दुई तला माथिबाट खसेर गम्भीर घाइते भएका छन्।

गालाको हड्डी फ्याक्चर भएका र टाउकोमा रगत जमेका उनलाई थप उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल पठाइएको छ।

विद्यालयको बेन्चमा ठोक्किएर हात फ्याक्चर: मकवानपुरको हेटौडा-९ स्थित सिद्धार्थ शिशु सदनमा अध्ययनरत् ८ वर्षीय बालक सुधांस सापकोटा कक्षा कोठामा बेन्चमा ठोक्किएर घाइते भएका छन्। बायाँ हात फ्याक्चर भएका उनलाई थप उपचारका लागि भरतपुर लगिएको छ।

सवारी दुर्घटनाहरू
धादिङमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक घाइते: पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे-१ मा बा २५ प ७९५१ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किँदा काठमाडौँका ६३ वर्षीय विष्णु प्रसाद दाहाल घाइते भएका छन्। उनको काठमाडौँको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ।

रामेछापमा दुई मोटरसाइकल दुर्घटना: रामेछापको खाँडादेवी गाउँपालिका-४ मा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा मोटरसाइकल चालकहरू घाइते भएका छन्। पहिलो दुर्घटनामा घाइते भएका समर बहादुर थापा मगरलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। सोही स्थानमा भएको अर्को दुर्घटनामा ४५ वर्षीय पुरुषोत्तम तामाङ गम्भीर घाइते भएका छन्। उनको दाहिने हात र चारवटा करङ (हड्डी) भाँचिएकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

चितवनमा दुई मोटरसाइकल आपसमा ठोक्किए: भरतपुर-९ मा बागमती प्रदेश ०६-००५ प १६७१ र ग १३ प ३४१८ नम्बरका मोटरसाइकल एकापसमा ठोक्किँदा २० वर्षीय रौनक लामिछानेको बायाँ हातको बुढी औँला छिनिएको छ । उनलाई थप उपचारका लागि बुद्ध एयरमार्फत काठमाडौँको बी एन्ड बी अस्पताल ल्याइएको छ । अर्का चालक राजन पाख्रिन सामान्य घाइते छन्।

भीमफेदीमा तरकारी बोकेको ट्रक दुर्घटना: मकवानपुरको भीमफेदी गाउँपालिका-९ मा पालुङबाट हेटौडातर्फ आउँदै गरेको ना ७ ख ३६२८ नम्बरको आईचर ट्रक ब्रेक फेल भई सडकबाट १०० मिटर तल खस्दा चालक २५ वर्षीय राम कुमार बल घाइते भएका छन्। सहचालक मिलन थिङ भने सुरक्षित छन्।

आगलागी र नदीबाट उद्धार
धादिङमा आगलागी:
धादिङको सिद्धलेक गाउँपालिका-४ मा लीला राज इटनीको घर र गोठमा आगलागी हुँदा घरगोठ पूर्ण रूपमा नष्ट भएको छ। आगलागीमा परि एउटा भैँसीको पाडो मरेको छ भने एउटा भैँसी घाइते भएको छ। आगलागीबाट करिब १ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

भोटेकोशीबाट जीवितै उद्धार: सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ मा भोटेकोशी नदीले बगाएर ल्याउँदै गरेका ३४ वर्षीय नारन सुवेदीलाई प्रहरी टोलीले सकुशल उद्धार गरेको छ। उद्धारपश्चात् उनलाई श्रीमती सविता सुवेदीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

जेठ २२, २०८३ शुक्रबार ०९:१७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।