नवलपरासीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालक गम्भीर घाइते
मध्यविन्दु : पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका-१४ प्रगतिनगरमा गएराति ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
कावासोतीबाट नारायणगढतर्फ गइरहेको ना ५ ख १७५७ नम्बरको ट्रकमा ग १० प २२८७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–१ का ५१ वर्षीय ओमनारायण गुरौको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार दुर्घटनामा मोटरसाइकल चालक २६ वर्षीय भारतीय नागरिक विशालकुमार श्रीवास्तव गम्भीर घाइते भएका छन्।
उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रहरीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ।
जेठ २२, २०८३ शुक्रबार ०७:४३:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।