तराईका १४ जिल्लामा तातो हावाको लहरको सम्भावना, तीन दिनसम्म विशेष सतर्कता अपनाउन आग्रह
काठमाडौं : मुलुकमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभावका कारण पहाडी क्षेत्रमा वर्षा र तराईमा गर्मी बढ्ने सम्भावना देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भू-भागमा बदली भई वर्षा र केही स्थानमा तातो हावाको लहर (लू) चल्ने सम्भावना छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहे पनि तराईका अधिकांश क्षेत्रमा मौसम सामान्यतया सफा छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भेगमा साधारणतया बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान छ।
यसैबीच, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा तातो हावा (लू) चल्ने तथा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागमा गर्मी बढ्ने सम्भावना छ।
आज राति कोशी प्रदेशलगायत देशका हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने पहाडी भाग तथा मधेश प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ।
कोशी प्रदेशका थोरै स्थान तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
तापक्रम बढ्ने सम्भावनालाई ध्यानमा राख्दै महाशाखाले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा आगामी तीन दिनसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
तातो हावाको लहरको प्रभावबाट बच्न दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा बाहिर ननिस्कन, हल्का तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न मौसमविद् तथा चिकित्सकहरूले सुझाव दिएका छन्।
जेठ २२, २०८३ शुक्रबार ०७:२०:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।