पूर्व गृहमन्त्री सुदनले हिरासतमै पुगेर अभियन्तालाई धम्क्याएको आरोप, छानबिनको माग
काठमाडौं : राष्ट्रिय जेन्जी नागरिक अभियानले विरोध प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना अभियन्ताहरूलाई पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुदन गुरुङले प्रहरी हिरासतमै पुगेर धम्की दिएको आरोप लगाएको छ।
अभियानद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा प्रहरी वृत्त लैनचौर (सोह्रखुट्टे) मा राखिएका अभियन्तामाथि गुरुङले अस्वाभाविक र दबाबमूलक व्यवहार गरेको भनिएको छ।
लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको भन्दै शान्तिपूर्ण पम्प्लेट प्रदर्शन गर्ने उद्देश्यले भारतीय दूतावास नजिक पुगेका अभियन्ताहरू अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई प्रहरीले कार्यक्रम सुरु हुनुअघि नै नियन्त्रणमा लिएको थियो।
उनीहरूलाई त्यहाँबाट सोह्रखुट्टे पुर्याइएको करिब एक घण्टापछि पूर्व गृहमन्त्री गुरुङ दलबलसहित थुनुवा कक्षमा प्रवेश गरी मानसिक दबाब दिएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिका अनुसार सांसद गुरुङले थुनामा रहेकाहरूलाई "तपाईँहरू कोबाट परिचालित हुनुहुन्छ?", "यो अन्तिम मौका हो", "अब सरकार र प्रहरीले समाते भने छोड्दैन" र "सरकारविरुद्ध बोल्न बन्द गर्नुहोस्" जस्ता अभिव्यक्ति दिँदै थर्काउने प्रयास गरेका थिए।
हिरासतमा रहेको अवस्थामा राजनीतिक व्यक्तिले थुनुवा कक्षमै पुगेर यस्तो व्यवहार गर्नु कानुनी शासन र लोकतान्त्रिक मूल्य-मान्यता विपरीत भएको अभियानले भनेको छ। यस घटनाले प्रहरी प्रशासनमाथि राजनीतिक प्रभाव र दबाब रहेको पुष्टि गर्ने दाबी गरिएको छ।
अभियानले हिरासतमा भएको राजनीतिक दबाबबारे निष्पक्ष छानबिन गर्न, सांसद गुरुङको अभिव्यक्तिबारे सत्यतथ्य सार्वजनिक गर्न र हिरासतमा मानवअधिकार उल्लंघन गर्ने दोषीमाथि कारबाही गर्न माग गरेको छ। साथै, राजनीतिक शक्ति केन्द्रले प्रहरी प्रशासनको दुरुपयोग गर्न नसक्ने व्यवस्था सुनिश्चित गर्न र शान्तिपूर्ण अभिव्यक्तिको अधिकारको सम्मान गर्न समेत माग गरिएको छ।

जेठ २१, २०८३ बिहीबार १९:३२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।