प्रधानमन्त्री वालेन्द्रको राजीनामा माग्दै माइतीघरमा नेकपाको नारा - 'जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा'
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध जनवर्गीय संगठनहरूले प्रधानमन्त्री वालेन्द्र शाहले दिएको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
संसदमा सीमाबारे विवादित अभिव्यक्ति दिएको विरोधमा गरिएको प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री शाहको राजीनामा र सार्वजनिक माफीको माग गरेका थिए।
प्रदर्शनका क्रममा 'राष्ट्रघाती अभिव्यक्ति फिर्ता लेऊ', 'जनतासँग सार्वजनिक माफी माग', 'जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा' जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।

नेकपाका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय अखण्डताविरुद्ध रहेको टिप्पणी गरे। प्रधानमन्त्री शाहसँग संसद्बाटै माफी माग्ने वा राजीनामा दिने दुई मात्र विकल्प भएको उनको भनाई छ। सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त घृणित, गैरजिम्मेवारपूर्ण र राष्ट्रिय अखण्डताकोविरुद्ध भएकाले विरोध गरिएको उनले बताए।
पाण्डेले भने, "विकसित देशको प्रधानमन्त्री भए संसदबाट बाहिरिँदै राजीनामा दिनुपर्ने अवस्था आउँथ्यो। हाम्रो देशमा यस्ता कुरा क्षम्य नै हुन्छन्, आजसम्म अन्य देशमा भए लाखौं मान्छे सडकमा निस्किएर आगो बाल्नेस्थिति बन्थ्यो। अझै पनि बालेन शाहले राम्रो बोलेका हुन्, सही छन् भन्ने मान्छेहरू पनि यही देशमा छन्।"

त्यसैगरी नेता सुदेश पराजुलीले संसद्मा उभिएर देशको कार्यकारी प्रमुखले राष्ट्रमाथि प्रहार गरेको आरोप लगाए। राष्ट्रियताको विरुद्धमा उभिएको शासकलाई सडकबाट सबक सिकाउनका निम्ति आफूहरू प्रदर्शनमा उत्रिएको उनको भनाई थियो।
उनले भने, "हिजो काठमाडौंमा बालेन शाहको रूपमा उदय भएका वालेन्द्र शाह आज संसद्मा पुगेपछि भारतीय शाहको रूपमा प्रकट भइरहेका छन्। यो कुराको निन्दा र भर्त्सना गर्नका निम्ति हाम्रो पार्टी माइतीघरमा उभिएर खबरदारी गरिरहेको छ।"
जेठ २१, २०८३ बिहीबार १८:५१:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।