इन्टरपोलबाट नेपाल ल्याएकी टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा
काठमाडौं : आपराधिक विश्वासघात, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेकी टिकटकर तुल्सा अधिकारीलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। नेपालमा जाहेरी दर्तापछि उनी चीन पुगेकी थिइन्। उनी चीनबाट थाइल्यान्ड गएको सूचनाको आधारमा नेपाल प्रहरीले इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गराएको छ।
इन्टरपोलको सहयोगमा जेठ १७ गते अधिकारीलाई थाइल्यान्डबाट डिपोर्ट गराएर नेपाल ल्याइएको थियो। पक्राउ परे लगत्तै उनलाई नेपाल ल्याएर अदालतमा पेस गरिएकोमा मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनामा राख्न आदेश आएको हो।
अधिकारीविरुद्ध कुमार चिमोरिया नाम गरेका व्यक्तिले २०८२ साउन २२ गते प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दिएका थिए। उनी सम्पत्ति शुद्धीकरणको कसुरमा समेत जोडिएकी छिन्।
२०८२ कात्तिक २० गते सम्पत्ति शुद्धीकरण विभागबाट सुझाव र समन्वय लिएर उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा समेत थप अनुसन्धान अघि बढाइएको थियो। अदालतमा उनी विरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो।
जेठ २१, २०८३ बिहीबार १८:२६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।