रमाको हत्यामा अझै अलमलमै प्रहरी, मुख्य घटनास्थलसम्म पुग्नै सकेन अनुसन्धान
मोरङ : झापाको दमक नगरपालिका-८ निवासी २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरणमा अनुसन्धान सुरु गरेको पाँच दिन बितिसक्दा पनि प्रहरी हत्याको मुख्य स्थान र संलग्न व्यक्तिबारे कुनै ठोस निष्कर्षमा पुग्न सकेको छैन।
गत जेठ १६ गते शनिबार बिहान मोरङ र झापाको सीमास्थित रतुवा खोलामा प्लास्टिकको बोरामा पोको पारिएको अवस्थामा तिवारीको शव फेला परेको थियो। स्थानीयले खोलामा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गर्दा उक्त घटना खुलेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनाको प्रकृति र भेटिएका प्रमाणअनुसार तिवारीको हत्या अन्यत्रै गरेर शवलाई बोरा राखेर खोलामा ल्याएर फालिएको अनुमान गरेको छ। तर, हत्या कहाँ, कसरी र कसले गर्यो भन्ने मुख्य प्रश्नको उत्तर प्रहरीले फेला पार्न सकेको छैन।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार शव भेटिएको स्थानलाई ‘सेकेन्डरी लोकेसन’ मानिएको छ। झापा प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सुमन बानियाँले घटनास्थलको अवस्था, शवको स्थिति र अन्य प्राविधिक पक्षको अध्ययन गर्दा हत्या अन्यत्र भएको देखिने बताए। शव भेटिएको स्थान घटनाको मुख्यस्थल नभएको उनको भनाइ थियो।
तिवारी गत बुधबार साँझ घरबाट बाहिरिएकी थिइन्। राति करिब ८ बजेतिर साथी भेट्न भनेर घरबाट निस्किएकी उनी त्यसपछि घर नफर्किएको उनको परिवारले जनाएको छ। सम्पर्कको प्रयास गर्दा सम्पर्कमा नआएकी उनको केही दिनमा शव फेला परेपछि परिवार शोकमा डुबेको छ।
अनुसन्धानको क्रममा प्रहरीले रमाको मोबाइल फोनको विवरण पनि अध्ययन गरेको छ। प्राविधिक विश्लेषणबाट उनको मोबाइलको अन्तिम सक्रिय लोकेसन दमक बजार क्षेत्रमा देखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बुधबार राति करिब ११ बजेको आसपासमा मोबाइल फोन बन्द भएको देखिन्छ। त्यसपछि मोबाइल सक्रिय भएको कुनै संकेत भेटिएको छैन।
मोबाइलको अन्तिम लोकेसन, सम्पर्कमा रहेका व्यक्तिहरू, सीसीटीभी फुटेज र अन्य डिजिटल प्रमाणको विश्लेषण गरेर घटनाको शृंखला जोड्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। तर अहिलेसम्म घटनालाई पूर्ण रूपमा स्पष्ट पार्ने निर्णायक प्रमाण भने हात लागेको छैन।
प्रहरीले अनुसन्धानको क्रममा रमासँग अन्तिम समयसम्म सम्पर्कमा रहेका व्यक्तिहरूमाथि सोधपुछ गरिरहेको छ। परिवारले दिएको जानकारीअनुसार रमालाई भेट्न बोलाउने एक युवक सोही दिन सुधार केन्द्रबाट छुटेका थिए। प्रहरीले ती युवकसँग विस्तृत सोधपुछ गरेको भए पनि उनको संलग्नता पुष्टि गर्ने आधार हालसम्म फेला परेको छैन।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार घटनाको प्रकृति हेर्दा एक व्यक्तिले मात्र हत्या गरेको सम्भावना कम देखिन्छ। शव बोक्ने, बोरामा प्याक गर्ने र खोलासम्म पुर्याउने काममा एकभन्दा बढी व्यक्ति संलग्न हुन सक्ने अनुमान गरिएको छ। यद्यपि यो प्रारम्भिक विश्लेषण मात्र भएकाले अनुसन्धानले पुष्टि नगरेसम्म कुनै निष्कर्ष निकाल्न नमिल्ने प्रहरीको भनाइ छ।
यसबीच सामाजिक सञ्जालमा घटनासम्बन्धी अनेक अड्कलबाजी, अपुष्ट दाबी र अनुमानमा आधारित सामग्रीहरू सार्वजनिक भइरहेका छन्। घटनाबारे विभिन्न व्यक्तिलाई जोडेर सामग्री सामाजिक सञ्जालमा राखिएपछि त्यस्ता गतिविधिले अनुसन्धानलाई प्रभावित पार्न सक्ने भन्दै प्रहरीले चासो व्यक्त गरेको छ।
अनुसन्धानको संवेदनशील चरणमा अपुष्ट सूचना सार्वजनिक हुँदा वास्तविक तथ्य पत्ता लगाउने प्रक्रियामा बाधा पुग्न सक्ने भएकोले त्यस्तो कार्य नगर्न प्रहरीले आग्रह गरेको छ।
"अनुसन्धान जारी रहेका बेला अनुमानका आधारमा कसैलाई दोषी ठहर गर्ने वा अपुष्ट सूचना फैलाउने काम नगर्न हामी आग्रह गर्छौं," इन्स्पेक्टर बानियाँले भनेका छन्। आधिकारिक पुष्टि नभएका विवरणले न्यायिक प्रक्रियालाई समेत असर पुर्याउन प्रहरीले जनाएको छ।
अहिले घटनासँग सम्बन्धित सम्भावित व्यक्तिहरूको गतिविधि, मोबाइल सम्पर्क विवरण, सीसीटीभी फुटेज, यात्रा र आवतजावतको रेकर्ड तथा अन्य प्राविधिक प्रमाणहरू अध्ययन गरिरहेको प्रहरीले जनाएको छ। घटनाको विभिन्न पाटो खुला राखेर अनुसन्धानको काम भइरहेको प्रहरीको भनाइ छ।
रतुवा खोलामा फेला परेको तिवारीको शवबाट सुरु भएको अनुसन्धान अहिले हत्या भएको वास्तविक स्थान, हत्याको उद्देश्य र संलग्न व्यक्तिहरूको पहिचानतर्फ केन्द्रित छ। तर मुख्य प्रमाणको खोजी अझै जारी रहेकाले उनको हत्या प्रकरण अनेक प्रश्नको घेरामा रहेको छ। प्रहरी अनुसन्धानले ती प्रश्नहरूको उत्तर कहिले र कसरी दिन्छ भन्नेमा अहिले सबैको चासो केन्द्रित भएको छ।
यता तिवारीको परिवार यतिबेला न्यायको प्रतीक्षामा छ। छोरीको हत्या किन र कसले गर्यो भन्ने प्रश्नको उत्तर खोजिरहेका परिवारजनले प्रहरी अनुसन्धानप्रति विश्वास व्यक्त गरेका छन्। उनको बीभत्स हत्यापछि स्थानीयमा त्रास र आक्रोश छाएको छ। पीडित परिवार र स्थानीयले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याउन माग गरेका छन्।
जेठ २१, २०८३ बिहीबार १६:२५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।