हेन्ली पासपोर्ट इन्डेक्स २०२६ : नेपाल र उत्तर कोरियाको पासपोर्ट एकै स्थानमा, सिंगापुर विश्वकै शक्तिशाली

हेन्ली पासपोर्ट इन्डेक्स २०२६ : नेपाल र उत्तर कोरियाको पासपोर्ट एकै स्थानमा, सिंगापुर विश्वकै शक्तिशाली

काठमाडौं : विश्वभरका पासपोर्टहरूको शक्ति मापन गर्ने 'हेन्ली पासपोर्ट इन्डेक्स-२०२६' को नयाँ प्रतिवेदन अनुसार नेपालको राहदानी (पासपोर्ट) को हैसियत विश्वमै सबैभन्दा अनुदार र एक्लिएको मुलुक उत्तर कोरिया सरह देखिएको छ। 

हेन्ली पासपोर्ट इन्डेक्सको नयाँ  रिपोर्ट अनुसार १९९ पासपोर्टमा नेपालको  र उत्तर कोरियाको पासपोर्ट ९७ औँ स्थानमा रहेको छ।

प्रतिवेदनअनुसार नेपालको र्याङ्किङमा केही सुधार देखिए पनि नेपाली पासपोर्टको पहुँच भने खुम्चिएको छ।

गत वर्ष नेपाल विश्वभरका १९९ पासपोर्टमध्ये १०१औँ स्थानमा थियो। यस वर्ष चार स्थान उक्लिएर नेपाल ९७औँ स्थानमा पुगेपनि नेपाली नागरिकले बिनाभिसा वा अन-अराइभल भिसामा सहजै यात्रा गर्न पाउने देशको सङ्ख्या भने ३६ बाट घटेर ३५ मा सीमित भएको छ। उत्तर कोरियाली नागरिकले पनि विश्वका ३५ देशमा मात्र यस्तो सहज पहुँच पाउँछन्।

सिंगापुर विश्वकै शक्तिशाली
यस वर्षको प्रतिवेदन अनुसार एसियाली मुलुक सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ। सिंगापुरका नागरिकले विश्वका १९२ देशहरूमा पूर्व भिसा बिना (भिसा-फ्री) सहजै पहुँच पाएका छन्।

त्यसैगरी, दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्। यी तीन देशका नागरिकले १८७ देशमा भिसाविना प्रवेश पाउँछन्।

१८६ देशमा पहुँचसहित तेस्रो स्थानमा स्विडेन रहेको छ।

दक्षिण एसियामा नेपाल
दक्षिण एसियाली राष्ट्रहरूको तुलनात्मक अवस्था हेर्दा नेपालको स्थिति निकै कमजोर देखिएको छ। आर्थिक र राजनीतिक सङ्कट भोगेका श्रीलंका र बंगलादेशको पासपोर्टसमेत नेपालको भन्दा बलियो अवस्थामा छन्।

दक्षिण एसियाली राष्ट्रहरूमध्ये माल्दिभ्स ९२ देशमा पहुँचसहित ५०औं र भारत ५७ देशमा पहुँचसहित ७८औं स्थानमा रहेका छन्।

त्यसपछि भुटान ८७औं (४७ देश), श्रीलंका ९४औं (३९ देश) र बंगलादेश ९६औं (३६ देश) स्थानमा छन्।

नेपाल ९७औं (३५ देश) स्थानमा छ भने नेपालभन्दा मुनि गृहयुद्ध र राजनीतिक अस्थिरता झेलिरहेको पाकिस्तान १००औं (३० देश) र अफगानिस्तान १०३औं (२३ देश)  स्थानमा रहेका छन्। 

जेठ २१, २०८३ बिहीबार १५:१४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।