महामन्त्री राणासहित राप्रपाका १८३ नेताले दिए राजीनामा, नयाँ पार्टी खोल्ने तयारी

महामन्त्री राणासहित राप्रपाका १८३ नेताले दिए राजीनामा, नयाँ पार्टी खोल्ने तयारी

काठमाडौं : पार्टीभित्र कार्यशैलीगत असन्तुष्टि जनाउँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ जना नेताहरूले बिहीबार पार्टीबाट सामूहिक राजीनामा दिएका छन्। 

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदत्यागको घोषणा गरेका हुन्। आफूले लामो समयदेखि बोकेको राजनीतिक मूल्य, मान्यता र एजेन्डालाई पार्टीभित्रबाट अगाडि बढाउन नसकिएकाले बाध्य भएर राजीनामा दिनुपरेको डा. राणाले बताए। 

उनले यस निर्णयलाई खुसीभन्दा पनि दुःखद दिनका रूपमा चित्रण गरेका छन्। डा. राणाले भने, "हामीले आफ्नो घरैबाट छाड्नुपर्ने अवस्था आयो। यो खुसीको होइन, दुःखको दिन हो। जब आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लगाउन सकिँदैन भन्ने निष्कर्षमा पुगिन्छ, तब हिम्मत गरेर त्यो घर छाड्नुपर्छ र अर्को घर निर्माण गर्नुपर्छ।"

विगत चार वर्ष आफ्नो राजनीतिक जीवनकै सबैभन्दा पीडादायी समय रहेको उल्लेख गर्दै उनले राप्रपालाई सही दिशा र एजेन्डा प्राप्तिको मार्गमा लैजाने आफ्ना प्रयासहरू सफल हुन नदिइएको दाबी गरे। आफूले पार्टीको संगठन सुधार र आन्दोलनको नेतृत्व गर्न खोजे पनि ती प्रयासहरूमा अवरोध सिर्जना गरिएको उनको भनाइ थियो।

डा. राणाले भने, "मैले राप्रपालाई सही बाटोमा, एजेन्डा प्राप्तिको बाटोमा लैजान खोजेको थिएँ। आन्दोलनको नेतृत्व गरेको थिएँ। पार्टीलाई सुधारेर राष्ट्रकै बलियो पार्टी बनाउन चाहेको थिएँ। तर मेरा ती सबै प्रयासलाई अगाडि बढ्न दिइएन।"

उनले पार्टी नेतृत्वप्रति प्रत्यक्ष आरोप नलगाई आफूले छाडेको संस्था र त्यहाँ रहेका साथीहरूप्रति कुनै गुनासो नरहेको स्पष्ट पारे। उनले आगामी दिनमा हिन्दु राष्ट्र, राष्ट्रियता र भ्रष्टाचारमुक्त नेपालको पक्षमा रहेका सबै राष्ट्रवादी शक्तिहरूलाई एकजुट हुन आह्वान समेत गरेका छन्। उनले राप्रपा परित्याग गरे पनि आफ्नो राजनीतिक उद्देश्य र एजेन्डामा प्रतिबद्ध रहने संकेत गरेका छन्। 

जेठ २१, २०८३ बिहीबार १४:४९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।