राष्ट्रिय गौरवको आयोजनामा ढिलासुस्ती : २ वर्षको काम ५ वर्षसम्म अलपत्र, कालीगण्डकी करिडोर अधुरै
बागलुङ : राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बलेवा खण्ड समयमै कालोपत्र नहुँदा यात्री र पर्यटकले सास्ती खेप्नुपरेको छ।
निर्माण कम्पनीको चरम ढिलासुस्तीका कारण सडक स्तरोन्नति नहुँदा दक्षिण बागलुङका स्थानीय बासिन्दाका साथै प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जाने पर्यटकहरू प्रभावित भएका हुन्।
करिडोरको बागलुङ खण्डमा पर्ने ३४ किलोमिटरमध्ये २४ किलोमिटर कालोपत्र भए पनि बाँकी १० किलोमिटर अझै कालोपत्र भएको छैन।
यो सडक खण्ड दुई वर्षभित्र कालोपत्र सम्पन्न गर्ने गरी पाँच वर्षअघि नै निर्माण कम्पनीसँग सम्झौता भएको थियो। समयमै काम नसकिएपछि गत जेठमा पुनः म्याद थपिएको थियो। तर, थपिएको समयमा पनि कामले गति नलिदा स्थानीय सर्वसाधारण रुष्ट छन्।
चालु आर्थिक वर्षभित्र काम पूरा नगरे कारबाही हुने कालीगण्डकी करिडोर आयोजना कार्यालयका इन्जिनियर होमनाथ पौडेलले चेतावनी दिए। उक्त खण्ड कालोपत्र गर्न ४८ करोड १२ लाख ५६ हजार ५२३ मा सम्झौता भएको हो।
निर्माण व्यवसायी दिनबन्धु काफ्लेले बजेट नहुँदा कामले गति नलिएको स्वीकार गरे। यद्यपि, पर्याप्त कामदार र उपकरण परिचालन गरेर निर्धारित समयमा निर्माण सम्पन्न गर्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे।
जेठ २१, २०८३ बिहीबार १३:२२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।