सगरमाथाको क्याम्प–३ बाट हराएका दावा शेर्पा ६ दिनपछि भेटिए, खुम्बु आइसफल नजिकैबाट उद्धार

सगरमाथाको क्याम्प–३ बाट हराएका दावा शेर्पा ६ दिनपछि भेटिए, खुम्बु आइसफल नजिकैबाट उद्धार

सोलुखुम्बु : सगरमाथा क्षेत्रमा हराएका ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा ६ दिनपछि फेला परेका छन्।

सगरमाथाको तेस्रो शिविर (क्याम्प–३) आसपासबाट बेपत्ता भएका शेर्पालाई बिहीबार बिहान खुम्बु आइसफलस्थित क्र्याम्पन पोइन्ट नजिक आधारशिविरतर्फ ओर्लिरहेको अवस्थामा उद्धार गरिएको हो।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीहरूले उनलाई अत्यन्त कमजोर अवस्थामा देखेपछि तत्काल उद्धार गरी आधारशिविरतर्फ ल्याएका हुन्। जेठ १५ गते  सम्पर्कविहीन रहेका शेर्पाको खोजी कार्य जारी रहेको थियो।

उद्धारपछि उनको स्वास्थ्य अवस्था परीक्षणको व्यवस्था गरिएको छ। अत्यधिक थकान, चिसो र लामो समयको शारीरिक संघर्षका कारण उनी कमजोर देखिए पनि बोल्न सक्ने अवस्थामा रहेको छ। स्वास्थ्यकर्मीको निगरानीमा राखेर उनको थप उपचार गरिने भएको छ। 

एक पोलिस नागरिकसँग सगरमाथा आरोहणमा गएका शेर्पा फर्किने क्रममा सम्पर्कविहीन भएका थिए।

जेठ २१, २०८३ बिहीबार ११:१५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।