धादिङ दुर्घटना अपडेट : घाइतेमध्ये भक्तपुरका कोजुको मृत्यु, चालकसहित ६ जनाको विभिन्न अस्पतालमा उपचार हुँदै

धादिङ दुर्घटना अपडेट : घाइतेमध्ये भक्तपुरका कोजुको मृत्यु, चालकसहित ६ जनाको विभिन्न अस्पतालमा उपचार हुँदै

काठमाडौं : धादिङको नीलकण्ठ नगरपालिका-१० टारीबेँसीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा घाइते भएका सात जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका भक्तपुरको सूर्यविनायक नगरपालिका-७ का ५३ वर्षीय नुछेबहादुर कोजुको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा हिजो राति नौ बजे डाक्टरले मृत घोषणा गरेका हुन् । मृतकको शव सोही अस्पतालमा राखिएको छ।

हिजो दिउँसो करिब १:४० बजे सल्यानटार-धादिङबेँसी सडक खण्डको टारीबेँसीमा नृसिंहधामबाट भक्तपुरतर्फ जाँदै गरेको बागमती बीएएफ ०२२३ नम्बरको इको भ्यान आफैँ अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित भ्यानमा सवार सबै सात जना घाइते भएका थिए।

जिल्ला अस्पताल धादिङबेँसीमा प्राथमिक उपचार गरिएका सबै घाइतेहरूलाई हिजो बेलुका ५:४५ बजे थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो। घाइतेहरूको सुरक्षा र व्यवस्थापनका लागि प्रहरी हवल्दार राजु गुरुङको टोली अस्पतालमै खटिएको छ।

प्रहरीका अनुसार घाइते अन्य ६ जनामध्ये भ्यान चालक सूर्यविनायक-५ का ५४ वर्षीय श्यामकृष्ण धुखुवाको अवस्था गम्भीर छ। टाउको र अनुहारमा चोट लागेका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

सोही अस्पतालमा सूर्यविनायक-५ का ५५ वर्षीय पर्शुराम कोइरालाको पनि उपचार भइरहेको छ, उनको बायाँ हात फ्याक्चर भएको छ भने अनुहार र बायाँ खुट्टामा चोट लागेको छ।

अन्य घाइतेमध्ये सूर्यविनायक-४ का ५८ वर्षीय राजेन्द्र कार्की र ललितपुरको महालक्ष्मी नगरपालिका-७ का ५२ वर्षीय राजेन्द्र महर्जनको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको टाउको र अनुहारमा चोट लागेको छ।

यस्तै, सूर्यविनायक-४ का ७२ वर्षीय श्याम खड्काको मध्यपुर ठिमी अस्पताल भक्तपुरमा र सूर्यविनायक-७ का ५५ वर्षीय पूर्णबहादुर बासुको केएमसी अस्पताल सिनामङ्गलमा उपचार भइरहेको छ। चालक धुखुवाबाहेक अन्य घाइतेहरूको अवस्था मध्यम र बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ।

जेठ २१, २०८३ बिहीबार १०:१३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।