बाजुरामा मदिरा सेवनपछिको विवादमा ढुङ्गा प्रहार गरी एक जनाको हत्या
बाजुरा : बाजुराको बूढीनन्दा नगरपालिकामा मदिरा सेवनपछि भएको आपसी विवादमा ढुङ्गा प्रहार गरी एक जनाको हत्या गरिएको छ।
बूढीनन्दा नगरपालिका-६ कोटिलाका टेकेन्द्र रावत र नीर रावतबीच स्थानीय एक होटलमा मदिरा सेवन गर्ने क्रममा विवाद भएको थियो। विवाद बढ्दै जाँदा टेकेन्द्रले प्रहार गरेको ढुङ्गा लागेर नीरको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार आज बिहान मदिराले मातेका दुवै जनाबीच विवाद सुरु भएको थियो। विवाद उग्र बनेपछि टेकेन्द्रले ढुङ्गा प्रहार गरेका थिए, जसबाट नीरको ज्यान गएको हो।
घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भाटले जानकारी दिए।
जेठ २१, २०८३ बिहीबार ०८:२१:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।