हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा आगलागी, तीन गाडी नष्ट
काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालको हलचोकस्थित मुख्यालयको सवारी शाखामा बुधबार राति आगलागी भएको छ। राति करिब आठ बजेतिर भएको उक्त आगलागीबाट तीनवटा सवारीसाधन पूर्ण रूपमा क्षति भएका छन्।
सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टका अनुसार अन्डरग्राउन्ड पार्किङमा राखिएको विद्युतीय सवारीसाधनबाट गुड्ने क्रममा वा चार्जमा रहँदा विद्युत् सर्ट भएर आगो सल्केको अनुमान गरिएको छ।
प्रवक्ता भट्टले आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिँदै भने, ‘मुख्यालयको सवारी पार्किङ गर्ने ठाउँबाट आगो सल्केको थियो। अहिले आगो नियन्त्रणमा आइसकेको छ । आगलागीबाट हाम्रा तीनवटा गाडी पूर्ण रूपमा क्षति भएका छन् भने केही अन्य गाडीमा पनि आंशिक क्षति पुगेको छ।’
सशस्त्र प्रहरीले घटनाको थप विवरण संकलन भइरहेको र आगलागीको यकिन कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।
जेठ २१, २०८३ बिहीबार ०७:२३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।