ओलीको 'नेतृत्व नछाड्ने' अभिव्यक्तिमा योगेश भट्टराईको कटाक्ष : फेसबुकमा राखे 'बुढो मान्छेको कथा'
काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल नेतृत्व नछाड्ने अभिव्यक्ति दिएपछि उपमहासचिव योगेश भट्टराईले एउटा प्रतीकात्मक कथा सेयर गर्दै नेतृत्वमाथि व्यङ्ग्य गरेका छन्।
आज पार्टीको दुई दिने कार्यशाला उद्घाटन गर्दै ओलीले 'मर्ने छाँट छैन, झोला बिचमा फ्याँक्दिनँ' भनेर अभिव्यक्ति दिएको केही समयमै भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा व्यङ्ग्य कसेका हुन्।
भट्टराईले एमालेको जनकपुरमा भएको सातौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा एक वरिष्ठ नेताले सुनाएको 'बुढो मान्छेको कथा' स्मरण गर्दै अहिलेको नेतृत्वको प्रवृत्तिमाथि प्रश्न उठाएका हुन्।
भट्टराईले अध्यक्ष ओलीप्रति लक्ष्य गर्दै फेसबुकमा लेखेका छन्, "एकजना बुढा मानिस बसमा चढ़ेछन। सिट खाली थिए तर ऊनी सीटमा बसेनन्। उभिएर बसभित्रको फलामको डन्डी च्याप्प समाए। बाटो उबड खवाड थियो। बस गुड्न सुरु गर्यों। बस घरी दायाँ ढल्किन्थ्यो बुढा मानिस बसको डन्डीलाई बायाँ तिर जोडले तान्थे। फेरी बस बायाँ ढल्किन्थ्यो बुढा मानिस डन्डीलाई जोडले दायाँ तान्थे। यही रीतले बस अघि बढी रह्यो। बुढा मानिस सोही क्रिया गरिरहे। बुढा असिन पसिन भए। बस गन्तव्यमा पुगेर रोकियो। सबै यात्रु बाहिर निस्के। बुढाले सबैलाई जम्मा गरेर भने आज तपाईँहरू सबै मेरो कारणले बच्नु भयो।"
भट्टराईले अगाडि लेख्छन्, "यात्रुहरू छक्क परेर सोधे कसरी? बुढाले सगौरव भने पल्टिन लागेको बसलाई डन्डीमा तानेर मैले पल्टिनबाट जोगाए र तपाईँहरू बच्नु भयो।”
आफूलाई अप्ठ्यारो अवस्थाको सामना गर्नकै लागि अध्यक्ष छानिएको जिकिर गर्दै ओलीले भनेका थिए, "कमरेडहरूलाई कतै आशङ्का हुनसक्छ, मैले बिचैमा झोला फालेर अलपत्र छोडेर हिँड्ने हो कि भन्ने। त्यो आशङ्का मनमा नलिनु होला।"
ओलीले आफूले 'बिचमै झोला नफाल्ने' अडान राखेको केही समयमै भट्टराईले 'बसको डन्डी तान्ने बुढो मान्छे' को कथा सामाजिक सञ्जालमा राखेपछि एमालेभित्रको आन्तरिक मतभेद फेरि सतहमा आएको छ।
जेठ २०, २०८३ बुधबार १९:०७:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।