नरसिंह धामको मेला गएका तीर्थालु सवार गाडी दुर्घटना, ७ जना घाइते

नरसिंह धामको मेला गएका तीर्थालु सवार गाडी दुर्घटना, ७ जना घाइते
तस्बिर : राजाराम रिजाल

काठमाडौं : धादिङको नीलकण्ठ नगरपालिका–१०, टारिबेशी सडक खण्डमा एक सवारी साधन दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

भक्तपुरबाट त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको प्रसिद्ध नरसिंह धामको मेला भर्न आएका श्रद्धालुहरू फर्कने क्रममा उक्त दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्यामकुमार बस्नेतका अनुसार बागमती प्रदेश बीएफ ०२२३ नम्बरको इको भ्यान अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो।

उनका अनुसार दुर्घटनामा गाडीमा सवार चालकसहित सातै जना घाइते भएका छन्।

बस्नेतले उकेरासँग भने, "घाइतेमध्ये ५ जनालाई उद्धार गरी उपचारका लागि धादिङ जिल्ला अस्पताल पठाइएको छ भने सामान्य घाइते भएका २ जनाको स्थानीय सल्यानटार स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।"

जिल्ला अस्पतालमा उपचार गराइरहेका घाइतेमध्ये एक जनाको अवस्था केही गम्भीर रहेको र उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको अवस्था मध्यम तथा सामान्य रहेको छ।

घाइतेहरूको विस्तृत विवरण र पहिचान खुल्ने क्रम जारी रहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।

जेठ २०, २०८३ बुधबार १५:१५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।