रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा भारत भ्रमणमा रहेका सभापति लामिछानेले आज प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन्।
भेटघाटको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मा लेखेका छन्, "राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको छ। एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको चाहनालाई म स्वागत गर्दछु र यसमा मेरो पूर्ण ऐक्यबद्धता छ।"
आफ्नो 'छिमेकी पहिलो' नीति अन्तर्गत नेपाल भारतको प्राथमिकतामा रहेको उल्लेख गर्दै मोदीले अगाडि थपेका छन्, "हाम्रा दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई अझ उच्च उचाइमा पुऱ्याउनका लागि नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुक छौँ।"
भेटका अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्ध, रास्वपा र भारतीय जनता पार्टी (भाजपा)बीचको सम्बन्ध, दुई देशबीचको आपसी हितका साथै विविध आयामहरूका विषयमा छलफल भएको बताइएको छ।
त्यस अवसरमा भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर, प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभल, विदेशसचिव विक्रम मिश्रीलगायतको उपस्थिति थियो भने नेपालका तर्फबाट सभापति लामिछाने, उनकी पत्नी नीकिता पौडेल, रास्वपाका नेताद्वय विपीन आचार्य र दीपक बोहरा तथा नयाँ दिल्लीस्थित नेपाली राजदूताबासका उच्च अधिकारीको पनि सहभागिता थियो।
भाजपाका अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा सभापति लमिछाने भारतको पाँचदिने भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेका हुन्। यसबीचमा सभापति लामिछानेले मङ्गलबार भारतका गृहमन्त्री अमित शाह, विदेशमन्त्री डा. एस जयशङ्करसँग भेटवार्ता गरेका थिए।
जेठ २०, २०८३ बुधबार १४:२६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।