भदौ २३/२४ को घटना आपराधिक मार्गबाट सरकार ढाल्ने पूर्वनियोजित षड्यन्त्र : ओली

भदौ २३/२४ को घटना आपराधिक मार्गबाट सरकार ढाल्ने पूर्वनियोजित षड्यन्त्र : ओली

काठमाडौं : एमालेका अध्यक्ष तथा केपी शर्मा ओलीले भदौ २३/२४ गते भएको घटना एमाले नेतृत्वको तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्वनियोजित षड्यन्त्र भएको दाबी गरेका छन्।

पार्टीको 'दर्ता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशाला'मा बोल्दै ओलीले उक्त घटनालाई आन्दोलन वा क्रान्ति भनिए पनि त्यो विशुद्ध प्रायोजित षड्यन्त्र भएको आरोप लगाए। 

उनले भने, " भदौ २३/२४ को घटनालाई कसैले आन्दोलन त कसैले क्रान्ति भन्ने गरेका छन्। नवयुवाहरूको हत्या गर्ने, आपराधिक क्रियाकलापको आयोजना आफैँ गर्ने र पछि काँक्रो खाएर बियाँ अर्काको गालामा टाँस्ने शैलीमा एमालेमाथि आरोप लगाउने काम भयो। तर त्यो एउटा षड्यन्त्र पुर्न, पूर्वनियोजित घटना हो।" 

अध्यक्ष ओलीले आफ्नो दाबीलाई पुष्टि गर्न राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको सारसंक्षेपलाई समेत उद्धृत गर्दै आयोगकै प्रतिवेदनमा पनि उक्त घटना पूर्वनियोजित र प्रायोजित भएको उल्लेख गरिएको दाबी गरे। 

उनले भने, "यो मेरो भनाइ होइन। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा भदौ २३/२४ को आक्रमण पहिल्यै षड्यन्त्र गरिएको प्रायोजित घटना थियो भन्ने कुरा प्रतिवेदनको सार संक्षेपमा उल्लेख गरेको छ।"

उनले तत्कालीन समयमा एमाले नेतृत्वको सरकार संवैधानिक, लोकतान्त्रिक र जनमतका आधारमा बलियो अवस्थामा रहेको बताए। उनले अत्यधिक बहुमत प्राप्त जननिर्वाचित सरकारलाई संवैधानिक, कानुनी वा संसदीय प्रक्रियाबाट ढाल्न अनेकौँ प्रयास असफल भएपछि अन्ततः वैधानिक र आपराधिक मार्ग अपनाएर सरकार विस्थापित गर्ने षड्यन्त्र रचिएको दाबी गरे।

"त्यो यथार्थ र षड्यन्त्र हाम्रो बिरुद्ध थियो नै हामी संवैधानिक हिसाबले लोकतान्त्रिक हिसाबले बलियो अवस्थामा थियो। हामी जनताबाट निर्वाचित बहुमत प्राप्त सरकारमा थियौ", उनले भने, " त्यो सरकारलाई संवैधानिक कानुनी संसदीय बाटोबाट अनेक पटक त्यसलाई ढाल्ने, ध्वस्त पार्ने प्रयास गरियो। त्यो सम्भव भएन, त्यो सम्भव नभएपछि वैधानिक र आपराधिक मार्गबाट त्यस सरकारलाई विस्थापित गर्ने षड्यन्त्र भयो।" 

जेठ २०, २०८३ बुधबार १३:४६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।