लुम्बिनीमा एमालेका चार मन्त्रीद्वारा सामुहिक राजीनामा
बुटवल : लुम्बिनी प्रदेश सरकार पुनर्गठनको तयारी तीव्र बनेसँगै एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले पदबाट सामूहिक राजीनामा दिएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष उनीहरूले बुधबार राजीनामा बुझाएका हुन्।
भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले आफूहरू सबैले संयुक्त रूपमा राजीनामा पेश गरेको जानकारी दिए।
प्रदेश सरकारमा नेपाली कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँट तथा सरकार पुनर्गठनबारे लामो समयदेखि छलफल चलिरहेका बेला मन्त्रीहरूको राजीनामा आएको हो।
स्रोतका अनुसार केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री आचार्यले एमालेका मन्त्रीहरूलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए।
त्यसअनुसार भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी, स्वास्थ्यमन्त्री खेम सारू मगर तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरीले पद त्याग गरेका हुन्।
यसअघि जेठको पहिलो सातामै मन्त्रिपरिषद् हेरफेरको तयारी भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैपटक सरकार पुनर्गठन गर्नुपर्ने अडान लिएपछि प्रक्रिया रोकिएको थियो।
एमालेले नयाँ मन्त्रीका रूपमा गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्री को नाम सिफारिस गरेको बताइएको छ। खत्री यसअघि मन्त्री भइसकेका नेता हुन् भने अन्य तीन जना सम्भावित नयाँ अनुहारका रूपमा अघि सारिएका छन्।
पार्टीले लगातार दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित भए पनि मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकता दिएको जनाइएको छ।
यही आधारमा रामजी घिमिरे र तुलसीप्रसाद चौधरीको नाम अगाडि बढाइएको स्रोतको भनाइ छ। प्रदेशसभाका ज्येष्ठ सदस्य भएकाले डिल्लीराज भुसाल पनि मन्त्रीको दौडमा परेका छन्।
यता प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर आठमा सीमित गर्ने निर्णय गरिसकेको छ। उक्त व्यवस्था सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ।
जेठ २०, २०८३ बुधबार १२:३४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।