तीन पुस्ताको ओत र नौ वर्षीय नातिको स्कुल खोसिएपछि बनेपाको कोठामा ६९ वर्षीया मनमायाको छटपटी
बनेपा : बनेपामा रहेको नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्र। कोठा नम्बर २०२ को अगाडि कुर्सीमा अडेस लागेर टोलाइरहेकी थिइन्- ६९ वर्षीया मनमाया राई।
एकल महिला रहेकी मनमायाको कोठामा उनीजस्तै अन्य दुई जना पनि बस्दै आएका छन्। कोठामा मनमायाका साथमा उनको ९ वर्षीय नाति पनि छन्।
मनमायाका छोरा र बुहारी दुवै आफ्ना सन्तानको सुन्दर भविष्यको सपना बोकेर हाल वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा छन्।
तर यता, मनमायालाई भने आफ्नो जीवनभरको पसिना खरानी भएको पीडासँगै नाति-नातिनाको भविष्य बिग्रने हो कि भन्ने चिन्ताले दिनरात सताउन थालेको छ।
गत वैशाख १२ गते सरकारले काठमाडौंको सिनामङ्गलस्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा डोजर चलाउँदा मनमायाको एकतले घर पनि भत्काइयो।
विगत २५ वर्षदेखि गैरीगाउँमै बस्दै आएकी मनमायाको जीवनको महत्त्वपूर्ण हिस्सा त्यहीँ बितेको थियो। त्यो एकतले सानो घर उनको जीवनभरिको पसिना र एक मात्र सहारा थियो।
सरकारले १५ दिनभित्र सुकुम्बासी पहिचान गरी उचित व्यवस्थापन गर्ने आश्वासन दिए पनि हालसम्म कुनै ठोस कदम चालेको छैन। यसले गर्दा सरकारले आफूहरूलाई सधैँका लागि सडकमै अलपत्र छाडिदिने हो कि भन्ने चिन्ताले मनमायालाई बेलाबेला सताउने गर्छ।
त्योभन्दा ठूलो चिन्ता उनलाई काठमाडौंमा बस्ने कोठा नपाउनु र नातिको पढाइ रोकिनुमा छ। घर भत्किएकै दिनदेखि अहिलेसम्म उनको ९ वर्षको नाति स्कुल जान पाएको छैन। नातिनीलाई भने काठमाडौंमै सानीआमाको घरमा राखेर पढाइरहेका छन्।
‘नातिनी चाहिँ छ्यामा(सानीआमा)कोमा बसेर पढिरहेकी छे। ऊ ८ कक्षामा पढ्छे। गैरीगाउँको एबीएस स्कुलमा पढाएका थियौँ। पढाइ नबिग्रियोस् भनेर उसलाई त्यहीँ राख्नुपर्यो,’ मनमायाले भनिन्, ‘नातिको पढाइ भने बिग्रियो। ऊ १ कक्षामा पढ्दै थियो, २ मा जानुपर्ने। अहिले ९ वर्षको भयो। अरूको घरमा दुवै जनालाई राख्न मिल्ने कुरा भएन, त्यसैले नातिलाई चाहिँ यहाँ (बनेपा) लिएर आएँ।’

बनेपाको अस्थायी केन्द्रमा आएदेखि सरकारी कर्मचारीहरू जति पटक आउँछन्, त्यति नै पटक नागरिकताको फोटोकपी मात्र माग्ने गर्छन्। यसरी कागजात मात्र माग्नुभन्दा सरकारले छिट्टै छानबिन गरेर उचित टुङ्गो लगाइदिए नाति-नातिनाको पढाइ सुचारु हुन पाउने उनी बताउँछिन्।
‘हामी सुकुम्बासी हौँ कि होइनौँ, छानबिन गरेर छिट्टै टुङ्गो लगाइदिए हुन्थ्यो। नदिने भए दिँदैनौँ भनिदिए हुन्थ्यो। दुईमध्ये एउटा कुरा स्पष्ट गरिदिए हामी किन यसरी पर्खेर बस्नुपर्थ्यो र?’, उनले आक्रोशित हुँदै प्रश्न गरिन्।
‘यसरी बिनानिष्कर्ष पर्खिरहँदा बच्चाहरूको भविष्य बिग्रन्छ। हामी बूढाबूढीलाई त केही छैन, तर बच्चाको भविष्य बिग्रने भयो। बच्चाहरूको पढाइ रोकिँदा उनीहरूमाथि धेरै नै अन्याय भयो’, उनले अगाडि थपिन्।
‘एकल यात्रा र ज्यामी कामबाट ठड्याएको टहरो’
मनमायाको गैरीगाउँको बसाइ २५ वर्ष पुगे पनि उनको काठमाडौं सङ्घर्षको त्यसअघिकै हो। उनी वि.सं. २०४५/०४६ सालतिर काठमाडौं प्रवेश गरेकी थिइन्। त्यतिबेला उनी एक्ली थिइनन्, उनको गर्भमा छोरो हुर्किँदै थियो। तर, साथ दिने श्रीमान् भने उनीसँग थिएनन्।
श्रीमान् अत्यधिक रक्सी खाने, अरू केटीसँग लहसिने र दिनरात उनलाई कुटपिट गर्ने भएपछि मनमायाले आफ्नो आत्मसम्मानका लागि श्रीमान्को घर त्याग्ने निर्णय गरेकी थिइन्।
‘श्रीमान् त २०४५/०४६ सालदेखि नै सँगै हुनुहुन्न। छोरा पेटमै हुँदा मैले उहाँलाई छोडेर हिँडेकी हुँ। नस्याहार्ने, न पाल्ने गरेपछि त्यसै छुट्टिनुपर्यो, अरू के गर्नु त?’ मनमायाले आफ्नो विगत सम्झिँदै भनिन्, ‘दिनरात रक्सी खाने, बाहिर तरुनी मात्र खोज्ने। अरू केटीसँग लागेपछि घरको मान्छेलाई देख्नै नसक्ने। खाली कुटपिट मात्र गरिरहने भएपछि बच्चा पेटमै हुँदा मैले उहाँको घर छोडेर हिँडेकी हुँ।’
काठमाडौं आएपछि उनलाई जसरी पनि बाँच्नु र आफ्नो गर्भको बच्चालाई संसार देखाउनु थियो। त्यसैले गर्भवती अवस्थामै उनले सुरुमा बालुवा-ढुङ्गा बोक्ने ज्यामी काम गर्न थालिन्।
तर, शारीरिक रूपमा गाह्रो भएपछि उनले होटलमा भाँडा माँझ्ने काम सुरु गरिन्। त्यसरी नै रातदिन नभनी गरेको कडा परिश्रमबाट जोगिएको पैसाले उनले गैरीगाउँमा एउटा एकपाखे टहरो ठड्याएकी थिइन्।
‘काठमाडौं आएपछि सुरुमा ज्यामी काम गरेँ। पछि ज्यामी काम गर्न नसक्ने भएपछि होटलमा भाँडा माँझ्न थालेँ। त्यसरी नै अलि-अलि पैसा जोडजाम गरेर एउटा एकपाखे टहरो बनाएकी थिएँ। कुन सालमा बनाएँ, मलाई खासै याद छैन। मेरा नातिनातिना सबै त्यहीँ जन्मिए। तर आज मेरो जीवनभरको कमाइ सकियो’, उनले भनिन्।
काठमाडौंमा सङ्घर्ष गर्दागर्दै उनले आफ्ना श्रीमान्को मृत्यु भएको समेत थाहा पाइनन्। छोरा २० वर्षको भएपछि नागरिकता बनाउनुपर्ने बाध्यता आइलाग्यो। सिफारिसका लागि श्रीमान्को गाउँ पुग्दा उनी बितेको पनि दुई वर्ष भइसकेको उनले थाहा पाइन्।

‘म त काठमाडौंमै बस्न थालेँ, श्रीमान् उतै गाउँमै बित्नुभएछ। उहाँले धेरै रक्सी खानुहुन्थ्यो, त्यसैले ज्यान लियो। म उहाँसँग छुट्टिएर हिँडेपछि कहिल्यै भेट भएन। छोरो २० वर्षको भएपछि नागरिकता बनाउन गाउँ गएकी थिएँ। त्यहाँ जाँदा त उहाँ बित्नुभएको पनि दुई वर्ष भइसकेको रहेछ। पछि देवरले छोराको नागरिकता बनाइदिनुभयो’, उनले भनिन्।
भएको पैतृक सम्पत्ति पनि श्रीमानको कुलतका कारण सकिइसकेको थियो। उनले घर छोडेपछि परिवारले पनि उनलाई कुनै सहयोग गरेन।
‘श्रीमान्ले वास्ता नगरेपछि घरपरिवारले पनि मलाई त्यति वास्ता गरेनन्। घरको मुली मान्छेले नै बेवास्ता गरेपछि अरूले नगर्नु पनि स्वाभाविकै थियो। धन्न, पछि देवरले छोराको नागरिकता चाहिँ बनाइदिनुभयो’, मनमायाले भनिन्।
खोसिँदा तीन पुस्ताको सम्झना र आत्मसम्मान
त्यो टहरो मनमायाका लागि केवल बस्ने थलो मात्र थिएन; त्यहाँ उनको छोराको बाल्यकाल बितेको थियो र नाति-नातिनाको जन्म भएको थियो। राई परिवारको तीन पुस्ताको भावना र सुखदुःख जोडिएको त्यो छाप्रो सरकारले क्षणभरमै भत्काइदियो। अहिले उनीहरू आफ्नो भविष्य कता जान्छ भन्ने चिन्तामा छन्।
हाल सरकारले राखेको बनेपाको रेडक्रस तालिम केन्द्रमा खाना र बस्नका लागि केही व्यवस्थापन भए पनि मनमायालाई यहाँ आफ्नो घरको जस्तो स्वतन्त्र महसुस हुँदै हुँदैन।
उनले भनिन्, ‘कहिलेकाहीँ दिउँसो भोक लाग्छ, तर यहाँको निश्चित समय हेरेर मात्र खान पाइन्छ। आफ्नै घरमा हुँदा त जुन बेला भोक लाग्यो, त्यही बेला पकाएर खान पाइन्थ्यो। यहाँ त नियम र समयमा हिँड्नुपर्छ। फेरि यहाँ मिठो-मसिनो रोजेर खान पाइँदैन, जस्तो पाक्छ त्यस्तै खाएर ज्यान अड्याइरहेका छौँ।’
बालेनको डोजरे विकास:
जेनजी आन्दोलनको जगमा बनेको सरकारको 'डोजर' राजनीति : बागमतीमा वृद्धको शव भेटियो, उठिबास हुने चिन्ताले युवकले गरे आत्महत्या
जेठ २०, २०८३ बुधबार ११:३१:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।