नेपाल प्रवेशको अनुमति पर्खिँदै स्टारलिङ्क, सञ्चारमन्त्रीसँग छलफल

नेपाल प्रवेशको अनुमति पर्खिँदै स्टारलिङ्क, सञ्चारमन्त्रीसँग छलफल

काठमाडौं : अन्तर्राष्ट्रिय स्याटेलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी ‘स्टारलिंक’ले नेपालमा सेवा सञ्चालनका लागि सरकारी अनुमतिको प्रतिक्षा गरिरहेको जनाएको छ।

कम्पनीकी निर्देशक रेबेका हन्टरले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटवार्ता गर्दै नेपालमा सेवा विस्तार गर्ने आफ्नो इच्छा नीतिगत तथा कानुनी जटिलताका कारण अल्झिएको बताएकी हुन्।

मन्त्रालयमा भएको भेटका क्रममा निर्देशक हन्टरले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि आवश्यक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न कम्पनीले निरन्तर पहल गरिरहेको जानकारी दिइन्।

उनले इजाजत संरचनामा स्टारलिङ्ककै शतप्रतिशत स्वामित्व कायम हुनुपर्ने कम्पनीको अडान रहेको स्पष्ट पारिन्।

यद्यपि, व्यावसायिक सहकार्यका लागि नेपालका केही स्थानीय सेवा प्रदायकहरूसँग समेत छलफल भइरहेको उनले जानकारी गराइन्।

जवाफमा सञ्चारमन्त्री तिमिल्सिनाले नेपालको विद्यमान दूरसञ्चार नीति र कानुनी व्यवस्थाअनुरूप आवश्यक प्रक्रिया पूरा गरेमा सेवा सञ्चालनमा कुनै अवरोध नहुने स्पष्ट पारे। उनले नेपालमा लगानी गर्न इच्छुक विदेशी कम्पनीहरू प्रचलित कानुनको परिधिभित्र रहेर नै अघि बढ्नुपर्ने धारणा राखे।

स्टारलिङ्कले नेपालमा अनुमति प्राप्त गर्न कसरत गरिरहँदा विकट तथा उच्च हिमाली क्षेत्रमा भने गुणस्तरीय इन्टरनेट सेवाको माग र आवश्यकता झन् बढ्दो छ।

विशेषगरी सगरमाथा आधार शिविरलगायतका क्षेत्रमा इन्टरनेट महँगो र सीमित भएको गुनासो पर्यटन व्यवसायी तथा पर्यटकहरूले गर्दै आएका छन्।

हाल सो क्षेत्रमा एभरेष्ट लिङ्क र एयर लिङ्क जस्ता नेपाली कम्पनीहरूले सेवा उपलब्ध गराइरहेका छन्। यद्यपि, आधार शिविरभन्दा माथिल्ला क्षेत्रमा विभिन्न विदेशी स्याटेलाइट इन्टरनेट उपकरणहरू अनधिकृत रूपमा प्रयोग भइरहेको बताइन्छ।

नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि नै सूचना जारी गर्दै यस्ता अनधिकृत सेवाहरूको प्रयोग गैरकानुनी रहेको स्पष्ट पारिसकेको छ।

स्टारलिङ्कको औपचारिक प्रवेशले नेपालका दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिए पनि त्यसका लागि कम्पनीले सरकारी मापदण्ड र नियामकीय प्रक्रिया पूरा गर्नुपर्ने चुनौती कायमै छ।

जेठ २०, २०८३ बुधबार १०:२१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।