सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ
सर्लाही : बागमती नगरपालिका-८ गान्धीचोकबाट प्रहरीले ब्राउन सुगर (खैरो हेरोइन) सहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अस्थायी प्रहरी पोस्ट सोल्टीबजार र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा मङ्गलवार बागमती नगरपालिका-८ निवासी ३० वर्षीय अरुण लामाको घरमा छापा मारेको थियो।
सोही क्रममा घरधनी अरुण लामा र धनुषाको धनुषाधाम नगरपालिका–७ निवासी ३० वर्षीय सनम लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट करिब १० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद भएको छ।
यसैगरी, प्रहरीले उनीहरूको साथबाट तीन थान एन्ड्रोइड मोबाइल, २३ हजार ७७० नेपाली रुपैयाँ र ९०० भारतीय रुपैयाँ समेत बरामद गरेको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
जेठ २०, २०८३ बुधबार ०९:१७:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।